काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ किलो थाई गाँजासहित तीन जना पक्राउ परेका छन्।
मंसिर १२ गते लागूऔषध नियन्त्रण ब्युरो, विमानस्थल शाखामा खटिएको प्रहरी टोलीले हवाई मार्ग हुँदै नेपाल प्रवेश गर्ने शंकास्पद व्यक्तिहरूको निगरानी तथा जाँच गर्ने क्रममा तीन जनालाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार थाइल्याण्डबाट बंगलादेश हुँदै नेपाल आएका भारतीय नागरिक र सोही उडानमार्फत बंगलादेशबाट आएका दुई नेपालीको गतिविधि शंकास्पद देखिएपछि उनीहरूको झोला जाँच गरिएको थियो। जाँचका क्रममा एयर ड्रायर र कुकीजका बट्टाभित्र लुकाएर ल्याइएको ७ किलो थाई गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश, गोरखपुरका २८ वर्षीय सचिन दुबे, गुल्मीको चन्द्रकोट गाउँपालिकाका २७ वर्षीय रामु सार्की र बागलुङको बरेङ गाउँपालिका–३ का २८ वर्षीय सन्देश सुनार रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट ७ किलो थाई गाँजा, तीन थान पासपोर्ट र तीन थान मोबाइल बरामद गरेको छ। पक्राउ परेका तीनै जनामाथि लागूऔषध सम्बन्धी थप अनुसन्धान भइरहेको लागूऔषध नियन्त्रण ब्युरोले जनाएको छ।
