सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिका–३ झुंगास्थित मदन भण्डारी राजमार्गमा जीप दुर्घटना हुँदा चालकसहित पाँच जना घाइते भएका छन्।
आज मंसिर १३ गते दिउँसो करिब १:१५ बजे काठमाडौंबाट सुनसरीतर्फ जाँदै गरेको बा.प्र.०१–०२८ च २७८३ नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेको हो।
दुर्घटनामा सुनसरीको बराहक्षेत्र नगरपालिका–८ निवासी ४२ वर्षीय चालक मातृका भट्टराई गम्भीर घाइते भएका छन्। उनकी श्रीमती ३८ वर्षीया प्रमिला भट्टराई, ८ वर्षीय छोरा आयन्स भट्टराई र ४० वर्षीया रेनुका सुवेदी भट्टराई मध्यम घाइते भएका छन्। त्यस्तै, १३ वर्षीय छोरा अतर्व भट्टराई सामान्य घाइते भएका छन्।
घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल सिन्धुली पठाएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
