काठमाडौं । काठमाडौंको ठमेलबाट ३ किलो कोकेनसहित ८७ वर्षीय दक्षिण कोरियाली नागरिक र २८ वर्षीय भारतीय नागरिक पक्राउ परेका छन्। बरामद कोकेनको अवैध बजार मूल्य करिब १५ करोड रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
लागूऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले मंसिर ११ गते काठमाडौं महानगरपालिका–१७ ठमेलस्थित जीपी रोडको एक होटलको कोठाबाट दक्षिण कोरियाली नागरिक सुक चोन लीलाई पक्राउ गरेको हो। उनले ह्यान्ड ब्यागेजभित्र फल्स बटम बनाएर लुकाएको अवस्थामा ३ किलो कोकेन फेला परेको प्रहरीले जनाएको छ।
उक्त कोकेन लिन आएका भारतीय नागरिक २८ वर्षीय दीपक उत्तम वाघमारे पनि पक्राउ परेका छन्। प्रहरीका अनुसार दक्षिण कोरियाली नागरिकले पेरुबाट काठमाडौंसम्म कोकेन ल्याउने र भारतीय नागरिकले काठमाडौं हुँदै मुम्बई पुर्याउने जिम्मेवारी लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
अनुसन्धानका क्रममा कोरियाली नागरिक नोभेम्बर २६, २०२६ मा पेरुबाट स्पेनको म्याड्रिड र कतारको दोहा हुँदै नेपाल आएको खुलेको छ। उनी यसअघि पनि जुलाई १९, २०२६ मा नेपाल आएर तीन दिन ठमेलको होटलमा बसेपछि कोरिया फर्किएको अभिलेखमा देखिएको ब्युरोले जनाएको छ।
पक्राउ परेका भारतीय नागरिकको साथबाट मुम्बई प्रहरीको स्टेट रिजर्भ पुलिस फोर्सको परिचयपत्रसमेत फेला परेको छ। साथै, कोकेन लुकाइएको सुटकेस आदानप्रदान गर्दा पासवर्ड प्रयोग गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
प्रहरीले उनीहरूको साथबाट ३ किलो कोकेन, एक थान पासपोर्ट, एक थान आधार कार्ड र दुई थान मोबाइल बरामद गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको लागूऔषध नियन्त्रण ब्युरोले जनाएको छ।
