सिन्धुली । सिन्धुलीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन्।
आज मंसिर १३ गते दिउँसो करिब १:१५ बजे दुधौली नगरपालिका–३, झुंगास्थित मदन भण्डारी राजमार्गमा काठमाडौंबाट सुनसरीतर्फ जाँदै गरेको बा.प्र.०१–०२८ च २७८३ नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेको हो।
दुर्घटनामा पाँचै जना घाइते भएका थिए। तत्काल घटनास्थलमा पुगेको प्रहरीले उनीहरूलाई उद्धार गरी जिल्ला अस्पताल सिन्धुली पुर्याएको थियो। उपचारका क्रममा दिउँसो २:१५ बजे चिकित्सकले जीप चालक सुनसरीको बराहक्षेत्र नगरपालिका–८ निवासी ४२ वर्षीय मातृका भट्टराईलाई मृत घोषणा गरेका हुन्।
घाइते हुनेहरूमा मृतककी श्रीमती ३८ वर्षीया प्रमिला भट्टराई, ८ वर्षीय छोरा आयन्स भट्टराई, ४० वर्षीया रेनुका सुवेदी भट्टराई र १३ वर्षीय छोरा अतर्व भट्टराई रहेका छन्। उनीहरूमध्ये तीन जनाको अवस्था मध्यम र एक जनाको अवस्था सामान्य रहेको जनाइएको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
