• Sunday 4th of October 2026
DhankutaKhabar

Advertisment

SKIP THIS

रक्षाबन्धन तथा जनै पूर्णिमा भोलि


  • धनकुटा खबर
  • .

काठमाडौं, भदौ १३ । हिन्दू धर्मावलम्बीहरुले आत्माको शुद्धिकरण र शरीरको रक्षार्थ ब्राम्हण पुरोहितद्वारा आफ्ना नाडीमा रक्षाबन्धनको धागो बाँधि प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवम् जनै पूर्णिमा भोली मनाउँदैछन । पुरोहित ब्राम्हणद्वारा त्यसरी रक्षा बन्धन धागो बाँध्दा दैत्यराज बलिको दानशीलता र सत्यनिष्ठा स्मरण गराउने मन्त्र वाचन गर्ने गरिन्छ ।

रक्षाबन्धन धागो पुरुषहरुको दायाँ र महिलाहरुको बायाँ नाडीमा बाँध्ने गरिन्छ । जनै पूर्णिमाका दिन बाँधिएको धागोलाई तिहारमा लक्ष्मीपूजाको दिनमा फुकालेर गाईको पुच्छरमा बाँधी विसर्जन गर्ने परम्परा छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले बुधबार विज्ञप्ति सार्वजनिक गर्दै जनैपूर्णिमा वा रक्षाबन्धन पर्व बिहीबार नै भएको प्रष्ट पारेको छ। बिहीबार सूर्य उदयकालमा पूर्णिमा रहेका कारण यसैदिन जनैपूर्णिमा र रक्षाबन्धन मनाउन आग्रह गरेको हो।

बिहीबार पूर्णिमा तिथि थोरै मात्र रहेको भन्दै कतिपयले अघिल्लै दिन बुधबार मनाउनुपर्ने बताएपछि समितिले जनमानसमा भ्रम परेको भन्दै विज्ञप्ति निकालेर यसबारे प्रष्ट पारेको हो। धर्मशास्त्रको परम्पराअनुसार उदयव्यापिनी (सूर्य उदय भएको) तिथिलाई आधार मान्नुपर्ने भन्दै समितिले बिहीबार नै मनाउनुपर्ने जनाएको छ।

‘भदौ १४ गते बिहीबारपर्ने ऋषितर्पणी, रक्षाबन्धन र गाईजात्रा पर्व मनाउन हाम्रो धर्म संस्कृति र परम्परा अनुकुल रहेको छ। अघिल्लो दिन पूर्णिमासँगै भद्रा रहेकाले १३ गते रात्रिमा ९ बजेर ३ मिनेटमा मात्र भद्रा सकिने हुँदा दिनमा रक्षामन्त्रन गर्न मिल्दैन’, समितिले भनेको छ, ‘रात्रिमा रक्षाबन्धन गर्ने परम्परा नभएकाकारण भोलिपल्ट नै गर्नुपर्ने देखिन्छ। हालसम्म रक्षाबन्धन र जनैपूर्णिमालाई अलग–अलग गर्ने परम्परा छैन।’

यो वर्षको जस्तो अवस्था १९९४, २०२४, २०३१, २०५५, २०६१, २०७१ र २०७९ मा पनि परेको समितिले जनाएको छ। ​उदय पूर्णिमा १ घडीमात्र भए पनि त्यही दिन यो पर्व मनाइएको समितिले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖