गुजरातको सुरत सहरमा प्रहरीले मङ्गलवार एक व्यक्तिलाई पक्राउ गरेको छ । ती व्यक्तिले आफूलाई इसरोका वैज्ञानिक बताएका थिए । समाचार एजेन्सी पिटिआईका अनुसार मितुल त्रिवेदी नामका यी व्यक्तिले आफूलाई इसरो वैज्ञानिक बताउँदै मिडियालाई अन्तरवार्ता दिइरहेका थिए ।
मितुलले चन्द्रयान–३ को ल्यान्डर मोड्युल आफूले डिजाइन गरेको भन्दै अन्तरवार्ता दिइरहेका थिए । प्रहरी अधिकारीले २३ अगस्टमा चन्द्रयान–३ ले चन्द्रमामा सफ्ट ल्यान्डिङ गरेपछि मितुलले मिडियालाई अन्तरवार्ता दिन थालेका थिए ।
यी अन्तरवार्तापछि उनी विरुद्ध उजुरी परेको थियो । मितुलले आफूलाई इसरोको सहायक अध्यक्ष बताउँदै आएका थिए । यससँग सम्बन्धित नक्कली नियुक्ति पत्र पनि मितुलले मानिसलाई देखाएका थिए ।
प्रहरीले आफ्नो विज्ञप्तिमा भनेको छ – अनुसन्धानबाट यी व्यक्तिको चन्द्रयान–३ वा इसरोसँग कुनै सम्बन्ध नभएको र गरिएको दाबी झुटो भएको खुलासा भएको छ ।
प्रहरीका अनुसार मितुलले मानिसहरूलाई इसरोसँग सम्बन्धित नक्कली सन्देश पठाउने गर्दथे ।
