• Friday 9th of October 2026

तीन जिल्लाका कार्यक्रम रोकेर जाजरकोट लागे रवि लामिछाने


  • धनकुटा खबर
  • .

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टीले लुम्बिनी प्रदेशका तीन जिल्लामा आज, भोलि र पर्सी पार्टीको बृहत जिल्ला भेला आयोजना गरेकोमा कर्णाली केन्द्र बनेर गएराती आएको भूकम्पले ती सबै कार्यक्रम रोकिएका छन् ।

रास्वपाले आज १८ गते पाल्पा, १९ गते गुल्मी र २० गते अर्घाखाँचीमा बृहत भेला आयोजना गरेर पार्टी सभापति रवि लामिछानेसहितका शीर्ष नेताहरुलाई ल्याउने तयारी गरेको थियो । तर गएरातीको भूकम्पले ती सबै कार्यक्रम रोकेर सभापति लामिछानेसहितका नेताहरु जाजरकोट हिंडेका हुन् ।

रास्वपा लुम्बिनी अध्यक्ष देवराज पाठकले यस्तो गम्भीर अवस्थामा पाल्पा, गुल्मी र अर्घाखाँचीको पार्टीको भेला कार्यक्रम स्थगित गरेर सभापति मेडिकल टोलीसहित प्रभावित क्षेत्रमा उद्वारको निम्ति हिँडिसकेको जानकारी दिए ।

‘हामी आजको कार्यक्रमका लागि पाल्पामा आइसकेका थियौं, अरु जिल्लामा पनि भोलि र पर्सीको तयारी भइसकेको थियो, तर यति ठूलो जनधनको क्षति भएको समयमा हामीले सबै कार्यक्रम रोकेर सबै शक्ति त्यहाँको राहत र उद्दारमा खटाउनेगरी निर्णय गर्यौं, सभापतिसहितको टोली जाजरकोट हिंडिसक्यो’ उनले भने ।

विपद्को समयमा पार्टीको भेला गर्नु उपयुक्त नहुने सभापति रवि लामिछानेले बताएका छन् । कार्यक्रम स्थगित गरेर आफू भूकम्प प्रभावित क्षेत्रमा जाने पनि सभापति लामिछानेले बताएका छन् ।

उनले भनेका छन्, ‘कार्तिक १७ गते राति जाजरकोट केन्द्रबिन्दु भएर आएको भूकम्पले ठुलो क्षति भएकोमा अत्यन्त मर्माहत छौँ। ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र उपचार र स्वास्थ्य लाभको कामना गर्दछौँ।विपद्को यो घडीमा सरकारलाई सम्पूर्ण साधनश्रोत परिचालन गरेर उद्धार तथा राहतमा केन्द्रित हुन आग्रह गर्दछौँ। साथै रास्वपा जाजरकोटका सबै सदस्यहरूलाई उद्धाररराहत कार्यमा सक्रियताका साथ संलग्न हुन पनि आग्रह गर्दछौँ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖