• Thursday 8th of October 2026

अस्ट्रेलिया जाने तयारीमा थिइन् उपासना, सबै प्रक्रिया सकेएपछी भिसा आउदै थियो


  • धनकुटा खबर
  • .

काठमाडौँ– शुक्रबार मध्यराति जाजरकोट केन्द्र भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पमा गोरखबहादुर सिंहले दुई छोरी गुमाए। साथै सँगै बस्दै आएका एक आफन्तको पनि ज्यान गयो।

गोरख आफैँ, श्रीमती र एक छोरी पनि घाइते छन्। गोरख र उनकी श्रीमतीको जाजरकोट जिल्ला अस्पतालमा उपचार जारी छ। घाइते अवस्थामा रहेकी एक छोरीको नेपालगन्जमा उपचार हुँदै छ।

गोरख सदरमुकाम खलंगामा श्रीमती, तीन छोरी र एक आफन्तको छोरीसँगै बस्दै आएका थिए। शुक्रबार मध्यरातमा आएको भूकम्पले घर भत्काउँदा उनीहरू भग्नावशेषमा दबिए। रातिको समयमा भूकम्प गएका कारण तत्काल उद्धार हुन सकेन।

घरको भग्नावशेषबाट उनीहरूको चार घण्टापछि मात्र उद्धार भएको गोरखका भाइ सुरेन्द्र (सुमन) सिंह बताउँछन्। उद्धार भइसक्दा तीन जनाको मृत्यु भइसकेको थियो भने तीन जना घाइते अवस्थामा थिए।

सुरेन्द्र बारेकोट गाउँपालिकामा थिए, भूकम्पपश्चात् टेलिफोन सम्पर्कविच्छेद भएपछि वस्तुस्थिति बुझ्न पाएनन्। उनी घटनाको जानकारी पाएलगत्तै सदरमुकाम खलंगा झरेका थिए।

घाइते गोरखको अवस्था भने सुधारोन्मुख रहेको सुरेन्द्र बताउँछन्। सन्तान वियोगका कारण गोरखकी श्रीमती मूर्छित् अवस्था रहेको उनी सुनाउँछन्।

गोरखकी माहिली छोरी २१ वर्षीया उपासना सिंह अस्ट्रेलिया जाने तरखरमा थिइन्। सम्पूर्ण प्रक्रिया सकेर उनी भिसाको प्रतीक्षामा रहेको सुरेन्द्र बताउँछन्।

एमबीबीएस पढ्ने तयारी गरिरहेकी कान्छी छोरी, १८ वर्षीया ऊर्जा सिंह आगामी पढाइको तयारीमा थिइन्। उनीहरूसँगै बस्दै आएकी २५ वर्षीया मेलिना भने इन्जिनियरिङ गर्दै थिइन्। उनीहरूको शनिबार नै अन्त्येष्टि गरिएको छ।

जेठी छोरी नेपालगन्जमा उपचाररत छिन्। उनको नेपालगन्जमा उपचार भइरहेको भए पनि अवस्था जटिल नै रहेको उनी सुनाउँछन्।

समयमै उपचार हुन सकेको भए उनीहरूको ज्यान जोगाउन सकिने सुरेन्द्रको भनाइ छ। “समयमै उद्धार हुन सकेको भए सबै जना बाँच्थे होलान्। सममै उद्धार हुन नसक्दा उनीहरूलाई गुमाउनु पर्‍यो,” उनले भने।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖