• Friday 9th of October 2026

परदेशबाट फर्किएर श्रीमतीसहित ३ सन्तानको बिदाइ गरेका उदय


  • धनकुटा खबर
  • .

२१ कात्तिक, कोलचौर (जाजरकोट) । जाजरकोटको भेरी नगरपालिका-१, कौलचौरका ३४ वर्षीय उदय विक स्वदेश फर्किँदा उनका छोराछोरीहरु सधैँ करिब तीन सय मिटर तल रहेको मुख्य सडकसम्म लिन पुग्थें ।

वैदेशिक रोजगारीका लागि मलेसिया गएर विक स्वदेश फर्किँदा छोराछोरीका लागि केही कपडा र श्रीमतीका लागि पनि उपहार लिएर आउँथे । तर, यसपालि उनलाई लिन आउने छोराछोरी थिएनन् ।

शुक्रबार जाजरकोटलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको उनले समाचारमा सुनेका त थिए । तर, आफ्नै परिवार पनि त्यसमा पर्यो होला भन्ने सोचेका थिएनन् । ‘दुई दिनपछि फेसबुकमा घरकै फोटो देखेँ, फोन गरेर पनि तुरुन्तै घर आउनुपर्ने भयो भन्नुभयो’, उनले सुनाए, ‘त्यतिबेलै कुरा बुझिसकेको थिएँ ।’

छोराछोरीको उज्ज्वल भविष्यका लागि भन्दै उनी वैदेशिक रोजगारीका लागि गएका थिए । तर, शुक्रबार गएको ६.४ रेक्टर स्केलको भूकम्पमा उनले श्रीमती ३० वर्षीया जानुका सुनार, छोरी १३ वर्षीया शर्मिला विक, ९ वर्षीया अञ्जली विक र ४ वर्षीय छोरा उज्ज्वल विक गुमाए । त्यही घरमा जानुकाकी देवरकी छोरी ११ वर्षीया निरुता विक र भाञ्जी ८ वर्षीया विष्णु तिरुवाको पनि मृत्यु भएको थियो ।

उदय नआउञ्जेल छरछिमेक र आफन्तले श्रीमती र छोराछोरीको शव जिल्ला अस्पताल, जाजरकोटमै छाडेका थिए । उनी सोमबार आउने भएसँगै शव बुझेर ल्याएको छिमेकी ३८ वर्षीय सज्जनराज विकले बताए । उनले भने, ‘उहाँ नआएसम्म जिम्मा लिने कुरै भएन, सोमबार आइपुग्ने भनेपछि घरमा शव ल्याएका थियौं ।’

सोमबार अपराह्न झण्डै १ बजेतिर उनी घरभन्दा तलतिर रहेको सडकसम्म आइपुगेका थिए । एउटा सुटकेश बोकेर आएका उनी उकालो चढ्न थालेपछि छिमेकीहरु आएर सामान बोकिदिए । पहिले-पहिले घरमा पुग्दा बुबा आउने वित्तिकै झोला हेर्ने बच्चाहरुको शव यसपटक लस्करै राखिएका थिए । श्रीमतीसहित ६ जनाको शव देख्दा उनी थामिन सकेनन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖