• Tuesday 6th of October 2026

विश्वकपमा आज : भारतलाई हराए च्याम्पियन्स ट्रफी खेल्न पाउनेछ नेदरल्यान्ड्सले


  • धनकुटा खबर
  • .

एजेन्सी । भारतमा जारी १३औँ आईसीसी एकदिवसीय विश्वकपको पहिलो चरणको अन्तिम खेल आइतबार खेलिँदै छ । प्रतियोगिताको नवौँ चरणको अन्तिम खेलमा आयोजक भारतले नेदरल्यान्ड्सको सामना गर्दै छ ।

उक्त खेल बेंगलौरस्थित एम। चिन्नास्वामी स्टेडियममा नेपाली समयअनुसार, दिउँसो २ः१५ बजे सुरु हुनेछ । आयोजक भारत जारी विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो राष्ट्र हो भने नेदरल्यान्ड्स यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको टोली हो ।

जारी विश्वकपमा भारत सबैभन्दा बलियो टोलीका रूपमा देखिएको छ । यसअघि खेलिएका आठ वटै खेलमा जित हात पारेको भारत १६ अंकसहित तालिकाको पहिलो स्थानमा छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को एसोसिएट्स सदस्य नेदरल्यान्ड्स भने आठ खेलबाट चार अंक जोड्दै तालिकामा सबैभन्दा तल छ ।

भारत र नेदरल्यान्ड्सबिच आइतबार खेलिने खेलले जारी विश्वकपको सेमिफाइनल समीकरणमा पनि कुनै असर पार्ने छैन । भारत, दक्षिण अफ्रिका, अस्ट्रेलिया र न्युजिल्यान्ड यसअघि नै क्रमशः पहिलोदेखि चौथो हुँदै सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।

प्रतियोगिताको सेमिफाइनलमा भारतले न्युजिल्यान्ड र दक्षिण अफ्रिकाले अस्ट्रेलियाको सामना गर्ने टुङ्गो पनि लागिसकेको छ । त्यसले आइतबारको खेलले यो विश्वकपको सेमिफाइनल समीकरणमा कुनै असर पार्ने अवस्था छैन ।

तर, नेदरल्यान्ड्सका लागि भने भारतविरुद्धको यो खेल निकै महत्त्वपूर्ण छ । यो खेलमा भारतलाई हराउन सके नेदरल्यान्ड्सले सन् २०२५ मा आयोजना हुने आईसीसी च्याम्पियन्स ट्रफी खेल्न अवसर पाउने छ ।

जारी विश्वकप तालिकाको पहिलोदेखि सातौँ स्थानसम्म आउने टोलीले च्याम्पियन्स ट्रफी खेल्न पाउने प्रावधान राखिएको छ । च्याम्पियन्स ट्रफीको आगामी संस्करण पाकिस्तानमा आयोजना हुनेछ । त्यसैले पाकिस्तानले आयोजकको हैसियतले नै त्यो प्रतियोगिता खेल्ने अवसर पाउने छ ।

तर, पाकिस्तान जारी विश्वकप तालिकाको पाँचौँ स्थानमा छ । त्यसैले पाकिस्तानको स्थानमा अर्को एक राष्ट्रले च्याम्पियन्स ट्रफीमा सहभागिता जनाउने अवसर पाउने छ । यसको अर्थ जारी विश्वकप तालिकाको आठौँ स्थानमा रहने टोलीले पनि आगामी च्याम्पियन्स ट्रफी खेल्न पाउने छ ।

हाल चार अंकसहित श्रीलङ्का जारी विश्वकप तालिकाको नवौँ स्थानमा छ । चार अकसहित बंगलादेश तालिकाको आठौँ स्थानमा आसिन छ । तर, आइतबारको खेलमा भारतलाई हराउन सके नेदरल्यान्ड्स ६ अंकसहित तालिकाको आठौँ स्थानमा उक्लने छ । त्यसपछि नेदरल्यान्ड्स च्याम्पियन्स ट्रफीका लागि पनि छनोट हुनेछ ।

तर, यो सम्भावना निकै कम देखिन्छ । किनभने यो विश्वकपमा सबैभन्दा बलियो टोलीको रूपमा देखा परेको आयोजक भारत अन्तिम खेलमा पनि सफलता हात पार्दै आफ्नो अपराजित छवि कायम राख्ने योजनामा रहने छ ।

भारत र नेदरल्यान्ड्सबिच यसअघि दुईवटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामात्र खेलिएको छ । ती दुवै खेलमा भारतले सफलता हात पारेको छ । सन् २००३ मा खेलिएको विश्वकपमा भारतले डच टोलीलाई ६८ रनले हराएको थियो । त्यसपछि सन् २०११ को विश्वकपमा खेलिएको खेलमा पनि भारतले नेदरल्यान्ड्सलाई पाँच विकेटले पराजित गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖