चीनको ताक्लाकोटमा नेपाली मजदुरहरु गुफामा बास बसेर महलको काम गर्दै आएका छन् । हिउँदको चिसो मौसममा उनीहरु गुफामा रात कटाउँछन् । दिनभर ताक्लाकोटमा श्रम गर्छन् । महँगो कोठा भाडा तिरेर बस्न समस्या भएपछि उनीहरु गुफाभित्र बास बसेर मजदुरी गर्दै आएका हुन् ।
बजारमा कोठा भाडा महँगो भएकाले गुफामा बास बसेर मजदुरी गर्न बाध्य भएको सर्केगाड गाउँपालिका–५ का बलराम बुढाथोकीले जानकारी दिए । बुढाथोकीले दुखेसो पोख्दै भने, ‘काम पाइएमा एक दिनमा दुई सय चिनीयाँ युआन कमाइ हुन्छ । दिनभर दु:ख गरेको पैसा रासन र कोठा भाडामै खर्च हुने भएकाले गुफामै बसेर रात कटाउँछौं।’
गुफा भित्र बस्दा निकै चिसो हुने गरेको अर्का मजदुर रुपबहादुर बुढाथोकीको दुखेसो छ । उनले भने, ‘बजारमा कोठा भाडा लिएर बस्दा महिनाको ८ हजार जति तिर्नुपर्छ । त्यहि भएर गुफाभित्र बास बसेर ताक्लाकोटमा चीनियाँहरुको घर निर्माणको काम गरेका छौं ।’
सिप सिकेका श्रमिकले सजिलै काम पाउँछन् सिप नभएकालाई काम पाउन समस्या हुनेगरेको बुढाथोकीको भनाई छ । झण्डै दुई देखि तीनसय जति नेपाली मजदुरहरु चीनको ताक्लाकोटमा मजदुरी गर्दै आएका छन् ।
