रिलिजको पूर्वसन्ध्यामा फिल्म ‘ऐंचो पैंचो’को राजधानीमा भव्य प्रिमियर शो गरिएको छ । बुधवार बेलुका गरिएको प्रिमियरमा फिल्मकर्मीसँगै राजनीतिज्ञको बाक्लो उपस्थिति रह्यो ।
नेकपा एकिकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कांग्रेस नेता प्रदीप पौडेल, एमाले नेता महेश बस्नेत, सांसदहरू प्रेम आले, सोविता गौतम, ज्ञानेन्द्र शाही लगायत बिग मुभिज पुगेर फिल्म हेरे ।
त्यस्तै, अभिनेता हरिवंश आचार्य, विपिन कार्कीदेखि निर्देशक दीपाश्री निरौलासम्मले प्रिमियरमा यस फिल्म हेरेका छन् । फिल्म हेरेपछि राजनीतिज्ञ एवं फिल्मकर्मीले दिएको सकारात्मक प्रतिक्रियाले निर्देशक कृषा चौलागाई खुसी देखिएकी छन् ।
दर्शकले पनि फिल्म रुचाउनेमा उनी विश्वस्त देखिइन् । सामाजिक र राजनीतिक कथामा निर्माण भएको यस फिल्ममा स्वस्तिमा खड्का, वर्षा राउत, मुकुन भुषाल, सुशिल सिटौला, कोशिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल लगायतको अभिनय छ ।प्रिमियरमा सकारात्मक प्रतिक्रिया पाउँदा कलाकारहरू समेत उत्साहित देखिएका छन् । फिल्म बिहीवारदेखि देशभरका हलमा प्रदर्शनमा आएको छ ।
