• Friday 9th of October 2026

जहां चिच्याउंदा बर पाइन्छ…


  • धनकुटा खबर
  • .

रुपन्देही । चिच्याएर बर माग्ने पाल्पाको सत्यवतीमा मेला ५ दिन लाग्ने भएको छ । मङ्सिर ७ गतेदेखि ११ गतेसम्म चिच्याएर बर माग्ने मेला हुने सत्यवती ताल तथा मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

तिनाउ गाउँपालिका–४, सत्यवतीमा हरेक वर्ष चिच्याएर बर माग्ने मेला लाग्ने गर्दछ । यो वर्ष मेला पाँच दिनसम्म सञ्चालन हुने समितिका अध्यक्ष दानबहादुर गाहाले जानकारी दिए। परम्परादेखि नै यहाँ चिच्याएर बर माग्ने अनौठो मेला लाग्ने गरेको उनले बताए ।

परापूर्व कालमा सत्यवती बज्यै घना जङ्गलकोबीचमा आई तपस्या गरेपछि शक्ति प्राप्त गरेको किमबदन्तीमा उल्लेख छ ।

सत्यवती बज्यै कानले नसुन्ने बहिरी भएकाले भक्तजनले सत्यवती ताल नजिकै पुगेर चिच्याएर मनमा चिताएको बर मागेमा बज्यैले पूरा गरिदिने जनविश्वास रहेको छ ।

यही विश्वासका कारण यहाँ हरेक वर्ष तिहारपछिको पूर्णिमामा मेलामा हजारौँ भक्तजन बर माग्ने मेलामा सहभागी हुने गरेको स्थानीय बासिन्दा एवं वडा अध्यक्ष तुलबहादुर आलेले जनाए ।

बर माग्ने भक्तजनले बाँस, निगालो, साल आदि जातका लिङ्गो लिएर रातिको समयमा तालमा गाड्ने र आफूले गाडेको लिङ्गो भोलिपल्ट चिनेर त्यही पूजा गरेपछि घरमा फर्कने परम्परा रहेको छ । ताल नजिकै रहेको मन्दिरमा बोका, पाठी, कुखुराका भाले, परेवा समेत बली चढाइन्छ ।

यहाँ परापूर्व कालदेखि नै बर माग्नका लागि नेपालका विभिन्न जिल्लासहित भारतबाट समेत भक्तजन आउने गरेको तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले बताए ।

सत्यवती ताल क्षेत्रको संरक्षण गर्दै बर माग्न आउने भक्तजनको सुविधाका लागि सडक मर्मतको काम भइरहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

यो वर्ष दुई लाखभन्दा बढी भक्तजन बर माग्नका लागि मेलामा सहभागी हुने अपेक्षा मेला व्यवस्थापन समितिले गरेको जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖