• Monday 5th of October 2026

कोरोनाको खोपले युवाहरुमा मृत्युदर बढाएको हो त ?


  • धनकुटा खबर
  • .

काठमाडौँ । पछिल्लो समय युवाहरुमा हृदयाघातको समस्या बढेको छ । हृदयाघातका कारण मृत्युका घटनाहरु पनि बढेको छ । धेरैले यसलाई कोरोना भाइरसको संक्रमण र सोविरुद्धको खोपसँग पनि जोडेर हेरेका थिए । इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर)ले गरेको एउटा अध्ययनका अनुसार कोभिड–१९ विरुद्धको खोपका कारण युवाहरूमा सडेन डेथ अर्थात अचानक मृत्युको खतरा बढेको होइन । यद्यपि, यसले असामयिक मृत्युको सम्भावना चाहिँ बढाएको हुनसक्ने अध्ययनमा भनिएको छ ।

अध्ययनमा कोभिड भएर अस्पतालमा लामो समयसम्म भर्ना भएर बस्नु, परिवारका सदस्यहरूमा अचानक मृत्युको घटना, धेरै शारीरिक परिश्रम गर्नुपर्ने कामलगायत जीवनशैलीमा आएका परिवर्तन र चुरोट र रक्सीको धेरै सेवनजस्ता कारकहरुको विश्लेषण गरिएको छ ।

यो अध्ययनमा सन् २०२१ को अक्टोबरदेखि सन् २०२३ को मार्चको बिचमा भारतको ४७ वटा टेरिटरी केयर अस्पतालमा गम्भीर खालको कोभिड भएर भर्ना भएका वा मृत्यु भएका १८ देखि ४५ वर्ष उमेरका ७२९ जनालाई सहभागी बनाइएको थियो ।

सहभागीहरुको मृत्युको कारण स्पष्ट भएको छैन । यद्यपि, अध्ययनमा कोभिडविरुद्धको खोपका कारण युवामा सडेन डेथको खतरा चाहिँ नबढेको देखिएको छ । अध्ययनमा सहभागीहरुको मेडिकल इतिहास, धूम्रपान, रक्सी सेवन र शारीरिक गतिविधि, कोभिडको संक्रमण, कोभिडविरुद्धको खोप जस्ता कारकहरुबारे अध्ययन गरिएको थियो ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्री मनसुख मंडावियाले केही समय अघि एउटा अध्ययनतर्फ औँल्याउँदै कोभिडको गम्भीर संक्रमणमा परेका मानिसहरुले एक दुई वर्षसम्म कठोर मेहनत गर्नबाट बच्न भनेका थिए । विज्ञहरुले पनि कोभिड निको भएका बिरामीहरुले डाक्टरको सल्लाहअनुसार व्यायाम गर्न, खानपिनमा विशेष ध्यान दिन तथा हार्ट अट्याकबाट बच्न एउटै समूहमा धेरै र कठोर परिश्रम पर्ने खालको व्यायाम गर्नबाट बच्न भनेका थिए । भारतमा युवाहरुको अचानक मृत्युको घटनाहरु बढेपछि आईसीएमआरले मृत्यु कोभिडको संक्रमण र कोभिडविरुद्धको खोपसँग सम्बन्धित त थिएन भनेर अध्ययन गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖