राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालको आन्दोलन शिथिल बन्न पुगेको छ । बिहीबार राजधानीको बल्खु क्षेत्रमा प्रदर्शन गरेपछि हौसिएका अभियानका संयोजक दुर्गा प्रसाईंले आन्दोलन निरन्तर हुने भनेपनि जनताको साथ नदेखिएको हो । प्रसाईंको अराजक अभिव्यक्तिपछि शुक्रबार प्रशासनले तीनकुने क्षेत्रमा प्रदर्शन गर्न रोक लगाएको थियो भने शक्रबार पनि जिल्लाहरुबाट ल्याइएका लघुवित्त पीडितहरुको मात्रै सहभागितामा कार्यक्रम गरिएको थियो ।
आइतबार भने भक्तपुरको दरबार क्षेत्रमा तय भएको कार्यक्रम नै स्थगित गरिएको छ । अभियानको शनिबार बसेको केन्द्रीय समिति बैठकले दरबार क्षेत्रमा गरिने भनिएको कार्यक्रम अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको अभियानले जनाएको छ । त्यसको सट्टामा आइतबार सांस्कृतिक कार्यक्रम भनेको थियो । जसअनुसार बिहान ११ बजेदेखि कलंकी चोक, बालाजु बिजी मल र रत्नपार्कमा कार्यक्रम हुने भनेपनि अहिलेसम्म कार्यक्रमका लागि कोहि पनि पुगेको अवस्था छैन ।
उता प्रसाईको कार्यक्रमबारे जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई जानकारी नभएको सहायक प्रमुख जिल्ला अधिकारी रविन्द्र प्रसाद आचार्यले जानकारी दिए । कानून विपरित प्रदर्शनमा उत्रिए सोही अनुसार कडा रुपमा प्रस्तुत हुने स्थानीय प्रशासनको तयारी छ । गत शुक्रबार पनि अभियानले प्रशासनसँगको समन्वय विना तीनकुनेमा प्रदर्शनको तयारी गरेपछि प्रहरीले प्रदर्शनकारीलाई पक्राउ गरेको थियो ।
