• Sunday 4th of October 2026

अन्तरिक्षबाट पृथ्वीमा पहिलो लेजर सन्देश, १ करोड ६० लाख किलोमिटर टाढाबाट ५० सेकेण्डमा आयो


  • धनकुटा खबर
  • .

काठमाडौं । पृथ्वीले पहिलो पटक अन्तरिक्षबाट लेजर सन्देश प्राप्त गरेको छ । यो सन्देश १६ मिलियन किलोमिटरको दूरीबाट पृथ्वीमा पठाइएको थियो। सन्देश प्राप्त गर्न केवल ५० सेकेन्ड लाग्यो। नासाले भन्यो– ‘हामीले लेजर सन्देश प्राप्त गरेको यो पहिलो पटक हो ।’

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले भन्यो- ‘यो सन्देश अन्तरिक्षमा रहेको हाम्रो साइकी स्पेसक्राफ्टबाट पठाइएको थियो, जुन ५० सेकेन्डमा पृथ्वीमा प्राप्त भएको थियो। हामीले लामो समयदेखि रेडियो सिग्नलहरू प्रयोग गरेर अन्तरिक्ष यानसँग सञ्चार गर्दै आएका छौं, तर अहिलेसम्म एजेन्सीले अन्तरिक्षमा लेजर प्रयोग गरेर यति टाढाबाट सूचना पठाएको वा प्राप्त गरेको थिएन।’

नासाका अधिकारी टर्डी कोर्टेसका अनुसार यो उपलब्धिले अन्तरिक्षमा सञ्चारमा सुधार ल्याउने मार्ग प्रशस्त गर्नेछ। उनले भने, ‘यसबाट हामी भविष्यमा अन्य ग्रहमा वैज्ञानिक सूचना, फोटो र भिडियो पठाउन सकिने प्रविधि निर्माण गर्न सक्षम हुनेछौँ ।’ १ करोड ६० लाख किलोमिटरको यो दूरी पृथ्वी र चन्द्रमाबीचको दूरीभन्दा ४० गुणा बढी हो ।

साइकी स्पेसक्राफ्ट अक्टोबर १३ मा फ्लोरिडाको केनेडी स्पेस सेन्टरबाट प्रक्षेपण गरिएको थियो। यस प्रयोगका लागि डीप स्पेस अप्टिकल कम्युनिकेसन (डीएसओसी) प्रणाली प्रयोग गरिएको थियो। यो डीएसओसी प्रणाली साइकी स्पेसक्राफ्टमा स्थापित गरिएको थियो। यो प्रणाली लेजर-बिम सन्देशहरू पृथ्वीमा फिर्ता पठाउन प्रयोग गरिन्छ।

अहिले डिप स्पेसमा अन्तरिक्ष यानसँग सम्पर्क स्थापित गर्न पृथ्वीमा ठूला एन्टेनाहरू जडान गरिएको छ। यी एन्टेनाहरूबाट सन्देशहरू पठाउन र प्राप्त गर्न रेडियो संकेतहरू प्रयोग गरिन्छ। तर तिनीहरूको ब्यान्डविथ सीमित छ। यो प्रयोगपछि नासाले अब रेडियो सिग्नलको सट्टा ‘लाइट’ प्रयोग गरेर पृथ्वी र अन्तरिक्ष यानबीच सम्पर्क स्थापित गर्न सक्नेछ ।

नासाका अनुसार यो प्रणालीले हाल प्रयोगमा रहेका अन्तरिक्ष सञ्चार उपकरणहरूभन्दा १० देखि १०० गुणा छिटो सूचना पठाउन सक्छ। नासाले नोभेम्बर १४ मा साइकी स्पेसक्राफ्टले क्यालिफोर्नियाको पालोमार अब्जर्भेटरीमा हेल टेलिस्कोपसँग सञ्चार सम्पर्क स्थापना गरेको जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖