• Sunday 4th of October 2026

निष्क्रिय जिमेल अकाउन्ट शुक्रवारदेखि डिलिट गर्दै गुगल, तपाईंको त पर्दैन अनि जोगाउने कसरी ?


  • धनकुटा खबर
  • .

काठमाडौं । निष्क्रिय गुगल अकाउन्टलाई सदाका लागि डिलिट गर्ने मिति नजिक आइरहेको छ । यदि तपाईंले गत २४ महिनादेखि अहिलेसम्म आफ्नो गुगल अकाउन्टमा एक पटक पनि लगइन गर्नु भएको छैन भने अब त्यसमा तपाईंले पुन: पहुँच पाउन सक्नु हुने छैन ।

किनकि गुगलले त्यस्ता अकाउन्टलाई आउँदो शुक्रवार अर्थात् डिसेम्बर १ देखि चरणबद्ध रूपमा डिलिट गर्दै छ ।

आउँदो डिसेम्बर १ देखि दुई वर्षसम्म एक पटक पनि लगइन नगरेका अकाउन्ट, बनाएर कहिल्यै प्रयोग नगरिएका अकाउन्ट र कहिलेकाँही मात्र प्रयोग गरिएका अकाउन्ट गुगलको डिलिट गर्ने सूचिमा पर्ने छन् । त्यसरी डिलिट गरिएका अकाउन्टसँग सम्बन्धित सबै डेटा पनि प्रयोगकर्ताले गुमाउने गुगलले जनाइसकेको छ ।

तर यदि तपाईंसँग पुराना अकाउन्ट छन् भने यो समय तिनलाई जोगाउने तर्फ लगाउन तर्फ लाग्नुहोस् ।

किन निष्क्रिय अकाउन्ट डिलिट गर्दैछ गुगल?

विशेषत: सुरक्षाको विषयले गर्दा यस्तो कदम चाल्नु परेको गुगलले जनाएको छ । बिर्सिएका वा निष्क्रिय रहेका अकाउन्टमा पुरानो वा पुन: प्रयोग गरिएका पासवर्ड हुने, टु फ्याक्टर अथेन्टिकेसन सेट अप नहुने र प्रयोगकर्ताले सुरक्षा मापन नगर्ने भएकाले डिलिट गर्न लागिएको गुगलको तर्क छ ।

त्यस्तै सक्रिय अकाउन्टको तुलनामा निष्क्रिय अकाउन्टमा टु फ्याक्टर अथेन्टिकेसन प्रयोग गर्ने सम्भावना १० गुणाले कमी हुने र स्पाम तथा मालिसियस कन्टेन्ट फैलाउन त्यस्ता अकाउन्ट प्रयोग हुन सक्ने भएकाले पुनः सिर्जना नहुने गरी त्यस्ता अकाउन्ट बन्द गर्न लागिएकाे गुगलको भनाइ छ ।

अकाउन्ट डिलिट हुनबाट जोगाउने कसरी ?

यसबारे गुगलले गत मे महिनामा एक ब्लग पोस्ट गर्दै केही तरिकाहरू शेयर गरेको थियो । उक्त पोस्ट अनुसार दुई वर्षमा कम्तिमा एक पटक लगइन गरेको खण्डमा अकाउन्ट डिलिट हुनबाट जोगाउन सकिन्छ । यो नै अकाउन्टलाई डिलिट हुनबाट बचाउने सबैभन्दा सरल तरिका हो ।

यसरी गुगलका विभिन्न सेवाहरू लिनका निम्ति अकाउन्ट लगइन गर्नु हुन्छ भने त्यो अकाउन्ट सक्रिय भएको मानिन्छ । त्यसक्रममा तपाईंले निम्न गतिविधि गर्न सक्नु हुन्छ:

ईमेल खोल्ने अथवा पठाउने

गुगल डक्स प्रयोग गर्ने

युट्युबमा भिडिओ हेर्ने

गुगल प्ले स्टोरबाट एप डाउनलोड गर्ने

गुगल सर्च गर्ने

थर्ड पार्टी एप तथा सेवाका लागि गुगलबाट लग इन गर्ने आदि ।

त्यस्तै यदि तपाईंले त्यस्ता अकाउन्टको पासवर्ड वा ईमेल बिर्सेर चलाउन सकिरहनु भएको छैन भने गुगलले त्यसका लागि पनि विकल्प दिएको छ । त्यस्ता गुगल अकाउन्ट वा जिमेल रिकभर गर्न यहाँ क्लिक गर्न सक्नुहुन्छ ।

साथै अरूको अकाउन्ट व्यवस्थापन गर्ने जिम्मा तपाईंले लिनु भएको छ अथवा मृत्यु भइसकेका व्यक्तिको ईमेलमा तपाईंको पहुँच छ, तर अब थप चलाउन सक्नुहुन्न भने त्यस्ता अकाउन्टको डेटा यहाँ क्लिक गरी डाउनलोड गर्न सक्नुहुन्छ ।

अथवा यहाँ क्लिक गरी तपाईं आफैंले निश्चित समयका लागि अकाउन्ट निष्क्रिय समेत गराउन सक्नुहुन्छ । त्यस बेला गुगलको यो नीतिले असर नगर्ने बताइएको छ ।

के सबै निष्क्रिय गुगल अकाउन्ट डिलिट हुन्छन् ?

होइन । गुगलले सबै निष्क्रिय अकाउन्ट डिलिट गर्दैन । गुगलको यो नियम व्यक्तिगत अकाउन्टमा मात्र लागु हुन्छ ।

अर्थात् व्यक्तिगत अकाउन्ट विगत २४ महिनादेखि निष्क्रिय छ भने मात्र त्यससँग सम्बन्धित गुगल क्यालेन्डर, ड्राइभ, डक्स, जिमेल, मिट, फोटो सबै डिलिट हुन्छन् ।

तर उक्त अकाउन्टबाट युट्युब च्यानल खोलेर भिडिओ अपलोड गरिएका छन् भने ती सुरक्षित हुने उक्त ब्लग पोस्टमा उल्लेख छ ।

त्यस्तै व्यक्तिगत अकाउन्ट नै भएपनि तपाईंले गुगलको सेवा खरिद गर्नुभएको छ भने ती अकाउन्ट निष्क्रिय भए पनि सक्रिय मानिने छन् । अर्थात् त्यस्ता अकाउन्ट डिलिट हुने सूचिमा पर्ने छैनन् ।

साथै २४ महिनासम्म निष्क्रिय रहेको अकाउन्ट डिलिट गर्ने गुगलको नीतिमा कम्पनी तथा क्लाशरूमसँग सम्बन्धित अकाउन्ट पनि पर्दैनन् । अर्थात् व्यापारिक तथा शैक्षिक उद्देश्यले खोलिएका अकाउन्टमा गुगलको यो नीति लागु हुने छैन ।

सबै निष्क्रिय अकाउन्ट एकै पटकमा डिलिट हुने हो ?

होइन । गुगलले यो काम चरणबद्ध रूपमा गर्ने बताएको छ । पहिलो चरणमा खोलेर कहिल्यै प्रयोग नभएका अकाउन्टहरूलाई डिलिट गर्ने गुगलले जनाएको छ ।

तर कति ओटा अकाउन्ट डिलिट हुन्छन् अथवा त्यसपछिको चरणमा के कस्ता अकाउन्ट डिलिट हुन्छन् भन्नेबारे गुगलले आधिकारिक रूपमा अहिलेसम्म खुलाएको छैन । तर त्यसरी अकाउन्ट डिलिट गर्नु अगाडि सम्बन्धित अकाउन्टको ईमेल र रिकभरी ईमेल (राखिएको भए) मा सूचना पठाउने गुगलले बताएको छ ।-टेकपाना

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖