• Sunday 4th of October 2026
DhankutaKhabar

Advertisment

SKIP THIS

ह्याकरहरूको विश्वकपमा अमेरिकालाई हराउँदै नेपाल सेमिफाइनलमा, अब स्पेनसँग प्रतिस्पर्धा गर्ने


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली ह्याकरको टोली ‘ह्याकरवन एम्बास्डर वर्ल्डकप २०२३’ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेकाे छ । ह्याकरहरूको सबैभन्दा ठूलो प्रस्तिस्पर्धा मध्येको एक यो प्रतियोगितामा अमेरिकी ह्याकर टोलीलाई पछि पार्दै नेपाली टिम सेमिफाइनल पुगेको हो ।

टे‍कपानासँग कुरा गर्दै टिम नेपालका लिडर आनन्द ढकालले नेपालले क्वार्टरफाइनलमा अमेरिकालाई पराजित गर्दै सेमिफाइनलमा छनाेट भएको जानकारी दिए । “जुलाई ५ देखि जुलाई १९ सम्म क्वार्टरफाइनलको प्रतिस्पर्धा भएको थियो,” ढकालले भने, “त्यसमा अमेरिकालाई पछि पार्दै हामी सेमिफाइनलमा प्रवेश गरेका छौं ।”

ह्याकरवन एम्बास्डर वर्ल्डकप यस्तो प्रतियोगिता हो, जहाँ विश्वभरका ह्याकरहरूको टिम एक-अर्कासँग प्रतिस्पर्धा गर्छन् । यसमा सहभागी ह्याकरको टोलीलाई कुनै पनि सिस्टममा भएका कमजोरी पत्ता लगाउन भनिन्छ ।

तोकिएको समयमा जसले बढी कमजोरी (बग) फेला पार्छ, सोही टिमको अङ्क बढ्दै जान्छ । अन्तिममा जुन टिमले बढी पोइन्ट पाउँछ, त्यो टिम नै विजेता घोषित हुन्छ । मार्च १३ देखि सुरु भएको यो प्रतिस्पर्धाको समूह चरणमा भारत र पाकिस्तानलाई हराउँदै टिम नेपाल शीर्ष १६ मा पुगेको थियो । शीर्ष १६ मा नेपालसँगै भारत पनि प्रवेश गरेको थियो ।

मे २ देखि १६ सम्म साउदी अरेबिया र नेपालबीच स्वीट सिक्सटिनका लागि प्रतिस्पर्धा भएको थियो । त्यसमा साउदीलाई पछि पार्दै टिम नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको थियो । ढकालका अनुसार जुलाई ५ देखि १९ सम्म भर्चुअल माध्यममार्फत् भएको क्वार्टरफाइनलमा अमेरिकालाई हराउँदै टिम नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।

अब भने नेपालले स्पेनसँग सेप्टेम्बर २६ देखि अक्टोबर १० सम्म प्रतिस्पर्धा गर्नेछ । यदि स्पेनलाई हराएको खण्डमा नेपालले अर्जेन्टिनामा हुने फाइनल प्रतिस्पर्धामा स्थान सुरक्षित गर्नेछ । स्पेनसँग हारेमा उत्कृष्ट तेस्रो हुनका लागि प्रतिस्पर्धा हुनेछ । टिम नेपालमा २६ जना ह्याकरहरू रहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖