• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

स्कुलका बालबालिकालाई लाइनमा राखेर केपी बा हाई-हाई!


  • धनकुटा खबर
  • .

नेकपा एमालेको पोलिटब्युरो सदस्य निरूदेवी पाल अघिल्लो प्रतिनिधि सभामा महिला तथा सामाजिक मामिला समितिकी सभापति थिइन्।
पाँच वर्षसम्म समितिको सभापति हुँदा उनले बालबालिकाको हकहितका विषयमा धेरै पटक छलफल गरेकी छन्, बहस गरेकी छन् र निर्देशन दिएकी छन्।

त्यसैले पनि उनलाई बालबालिकालाई कस्तो ठाउँमा प्रयोग गर्न हुने र कस्तो ठाउँमा गर्न नहुने भन्ने विषयमा राम्रोसँग जानकारी हुनुपर्ने हो।
एउटा पार्टीको पोलिटब्युरो सदस्यलाई राजनीतिक दलसम्बन्धी ऐनले निर्दिष्ट गरेका विषयहरू थाहा नहुने कुरा भएन।

तर आइतबार विद्यालय चलिरहेकै बेलामा अछामको पञ्चदेवल विनायक नगरपालिकाको विद्यामन्दिर नमूना माविका विद्यार्थीले स्कुल पोशाकमै आएर आफ्ना अध्यक्ष केपी शर्मा ओलीको पक्षमा नाराबाजी गर्दा उनले त्यो गलत हो,रोकौं चाहिँ भन्न सकिनन्।

बरू बिद्यार्थीहरूले ‘केपी बा हाई-हाई’ भन्दै गरेको नाराबाजीको भिडिओ फेसबुकमा पोष्ट गरिन्। यद्यपि, अहिले उनले त्यो भिडिओ हटाएकी छिन्।

उनले आफूले पहिले भिडिओ पोष्ट गरे पनि पछि गलत जस्तो लागेर हटाएको बताइन्।

सेतोपाटीसँग कुरा गर्दै उनले ओली विद्यालयकै छेउमा बसेको र स्कुलका विद्यार्थीहरूले केपी बालाई देखाइदिनु भनेर जबरजस्ती गरेपछि प्रधानाध्यापकले ओलीलाई देखाउन ल्याएको बताइन्।

उनले राजनीतिक दलका कार्यक्रममा बालबालिका प्रयोग गर्न पाइन्न भन्नेमा आफू सचेत रहेको समेत बताइन्।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को परिच्छेद-३ दफा २१ दलले गर्न नहुने कामको (त) मा राजनीतिक गतिविधिमा बालबालिकालाई प्रयोग गर्न नहुने उल्लेख छ।

तर एमालेको अनुशासन आयोगका अध्यक्ष केशब बडालले भने उक्त कार्यक्रम निर्वाचन प्रचारको कार्यक्रम नभएकाले विद्यार्थी आउनुलाई अनुपयुक्त मान्न नमिल्ने बताए।

‘गाउँमा कसैको बिहे भयो भने केटाकेटी जान्छन् नि, जाँदैनन् र?,’ बडालले सेतोपाटीसँग प्रतिप्रश्न गरे,‘यति उमेरका उभिन मिल्ने यति उमेरका उभिन नमिल्ने भन्न मिल्दैन। नारा लगाउने केटाकेटीको मुख थुन्न सकिएन।’

नेकपा (एमाले) को मध्यपहाडी राजमार्ग केन्द्रित अभियानमा विद्यार्थी सहभागी गराइएको र अमूल दलको पृष्ठपोषण हुने गरी नाराबाजी गर्न लगाएकोबारे हामीले विद्यालयका प्रधानाध्यापक पहलसिंह नेपालीलाई पनि सोध्यौं।

उनले एमालेको जुलुसमा विद्यार्थी सहभागी नभएको तर सडकको डिलमा उभिएर हेरेको बताए।

‘मध्यपहाडी लोकमार्गको छेवैमा छ हाम्रो स्कुल। देशको पूर्वप्रधानमन्त्रीजस्तो व्यक्ति स्कुलको बाटो भएर आउने भएपछि विद्यालयका शिक्षक, कर्मचारी मिलेर स्वागत गर्ने, उहाँलाई माला लगाउने, हार्दिकता बाँड्ने कार्यक्रम थियो। विशुद्ध स्वागत गर्ने नियतले कार्यक्रम राखिएको थियो। उहाँहरू आइपुग्नुभयो। हामीले फूल माला लगायौं। फोटा खिचायौं,’ उनले सेतोपाटीसँग भने ‘कक्षाका शिक्षक, कर्मचारी सबै सडकमा आएपछि विद्यार्थी निस्किएर सडकमा आइहालेछन्, स्वःस्फूर्त। कसैले जुलुसमा आउन त भनेको होइन। जुलुस निकाल्ने कार्यक्रम नै थिएन त्यहाँ।’

त्यहीक्रममा विद्यार्थीले ‘केपी बा! हाईहाई’ भनेको उनले बताए।
‘म फर्किएर स्कुल गएँ। बेलुका सामाजिक सञ्जालमा हेर्छु छ्याप्छ्याप्ती भिडिओ क्लिप रहेछ। नारा लगाउने अधिकांश साना कक्षाका विद्यार्थी हुन्। धेरैजसो ६ कक्षाका छन्,’ उनले भने।

प्रअ नेपालीले विद्यार्थीले नारा लगाएकोबारे आफूले पनि बुझिरहेको बताए।
यस विषयमा हामीले केन्द्रीय बालकल्याण परिषद्का पूर्वकार्यकारी निर्देशक मिलन धरेललाई पनि सोधेका छौं। उनी बालअधिकारकर्मी पनि हुन्।
उनले दलीय कार्यक्रममा बालबालिका सहभागी गराउन नपाइने कानुनी व्यवस्था रहेको बताए।

‘बालबालिकाहरूलाई राजनीतिक कार्यक्रममा सहभागी गराउनु गलत हो। एमाले नेतृत्वले त्यस्तो कार्यक्रममा बालबालिकालाई सहभागी गराउने कार्यकर्ता पंक्तिलाई सचेत गराउनुपर्छ,’ उनले भने।

मध्यपहाडी लोकमार्ग आसपास विकासको सम्भाव्यताको पहिचान गर्न मंसिर १४ गतेदेखि एमालेले संकल्प यात्रा गरिरहेको छ। बैतडीको झुलाघाटबाट सुरू भएको झन्डै दुई हजार किलोमिटर लामो यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने छ।

अभियानको पाँचौं दिन सोमबार दैलेख हुँदै सुर्खेत आइपुग्ने गरी यात्रा तय गरिएको उपमहासचिव पृथ्वीसुब्बा गुरूङले जानकारी दिए।

‘अभियानमा स्वःस्फूर्तरूपमा जनसहभागिता देखिन्छ। अभियान मध्यपहाडी क्षेत्रको समस्या र विकासको सम्भावनाको पहिचान गर्न कोशेढुंगा सावित हुने विश्वास लिएका छौं,’ उनले भने।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖