• Sunday 4th of October 2026

कावासोती नगरपालिकाबाट एमाले नगर अध्यक्षलाई मासिक ४३ हजार तलब : विवादपछि फिर्ता गराउने तयारी


  • धनकुटा खबर
  • .

काठमाडौँ । नवलपरासीको कावासोती नगरपालिकाले एमाले नगर अध्यक्ष रामकृष्ण ढुङ्गानालाई मासिक ४३ हजार ६ सय रुपैयाँ तलब दिन थालेपछि विवाद भएको छ । नेपाली कांग्रेसको भातृ सङ्गठन नेविसंघले सो कार्यको विरोध गर्दै एमालेबाट निर्वाचित मेयर विष्णुप्रसाद भुसाललाई शुक्रवार ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्र बुझ्दै भुसालले त्रुटिपूर्ण निर्णय भए त्यसलाई रद्द गर्ने प्रतिबद्धता जनाएका छन् ।

नगरप्रमुख भुसाललाई एमाले स्थानीय नेता ढुङ्गानालाई राजनीतिक सल्लाहकार नियुक्त गरेर अधिकृत स्तरको मासिक तलब सुविधा दिन थालेपछि नेविसंघ तथा अन्य राजनीतिक दलका स्थानीय नेताहरूले विरोध गरेका छन् । गण्डकी प्रदेश सरकारले स्थानीय तहका प्रमुख उपप्रमुखले कुनै पनि नाममा सल्लाहकार राख्ने कानुनी व्यवस्था नगरेका कारण सो काम अवैध रहेको भन्दै विरोध चर्किएपछि मेयर भुसाल सो निर्णयबाट पछि हट्न लागेका छन् ।

नगरपालिका स्रोतका अनुसार ढुङ्गानालाई गत असारमा राजनीतिक सल्लाहकार नियुक्त गरेर मासिक ४३ हजार ६ सय तलब दिन थालिएको हो । एमाले नेता ढुङ्गानाले गत असार महिनाको तलब एनआइसी एसिया बैंकवाट बुझेको नगरपालिका स्रोतको भनाई छ ।

मेयर भुसाल भन्छन् : तलब लिएको भए फिर्ता गराउँछौँ

कावासोती नगरप्रमुख विष्णुप्रसाद भुसालले ढुङ्गानालाई राजनीतिक सल्लाहकार नियुक्त गरेको स्वीकार गर्दै साउनदेखि सेवा सुविधा दिने निर्णय भएको बताए । सेवा सुविधा यताउति दिने भनेर माइन्युटिङ भने नभएको बताउँदै उनले साउन महिनादेखि भनेर नियुक्त गरे पनि नगरपालिका प्रशासनले के भनेर असारको तलब दियो बुझ्न बाँकी रहेको बताए ।

रातोपाटीसँग कुरा गर्दै उनले भने– ‘राजनीतिक सल्लाहकार भनेर नियुक्ति गरेको हो । सेवा सुविधा उपलब्ध गराइनेछ भनेर लेखेको छ तर यतिको दरले दिने भनेर अंक लेखेको होइन । सेवा सुविधा दिने भने पनि मासिक ४३ हजार ६ सय दिने भनेर हामीले लेखेको छैन ।’

उनले अगाडि भने– ‘लेखा अधिकृतले के गर्नुभयो । मेरो म्याडमको उपचारका लागि ३ दिन म काठमाडौँमा थिएँ हिजो मात्र फर्किएको छु । भोलि कार्यपालिकाको बैठक छ । यो कुरा आइसकेपछि मैले उहाँ (ढुङ्गाना)लाई त्यो पैसा तपाईँको खातामा गएको हो भने कार्यपालिकाले निर्णय गरेको होइन । लेखाले कुन माध्यमले हाल्यो । यदि तपाईँले त्यो लिएको भए उचित हुँदैन, तपाईँलाई राजनीतिक सल्लाहकार राखेको हो तपाईँलाई यति दिने भनेर राखेको हैन । चिया खर्च, पकेट खर्च दिने एउटा कुरा रहला भनेर मैले उहाँलाई भनेको छु । उहाँले मैले लिएको छैन, भोलि म कार्यपालिकालाई एउटा निवेदन दिन्छु, त्यो कुरा लागू गर्नुस् भन्नुभएको छ ।’

एमाले नेता ढुङ्गानाले राजनीतिक सल्लाहकार नबस्ने र आफ्नो खातामा पैसा आएको फिर्ता गर्ने बताएको नगरप्रमुख भुसालले रातोपाटीलाई बताए । नगरपालिकाबाट ढुङ्गानाको खातामा पैसा गएको रहेछ भने आइतबार दिउँसो २ बजे बस्ने कार्यपालिकाको बैठकबाट फिर्ता हुने उनले बताए । स्थानीय तहहरूले ऐन विपरीत विभिन्न किसिमका सल्लाहकार नियुक्त गरी तलब भत्ता खुवाएका विषयलाई महालेखा परीक्षकको कार्यालयले बेरुजुमा समेट्ने गरेको छ ।-रातोपाटी

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖