• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

‘इयर अफ मिलेट्स’ मा नेपालको तस्बिर दोस्रो स्थानमा


  • धनकुटा खबर
  • .

काठमाडौँ । संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठनको ‘इयर अफ मिलेट्स’ फोटो प्रतियोगितामा नेपालका राज अधिकारीले खिचेको फोटो दोस्रो स्थानमा पर्न सफल भएको छ । पहिलो हुनेमा दक्षिण अफ्रिकी फोटोग्राफर जोनाथन रिज रहेका छन् ।

विश्वका ५८ देशबाट पठाइएका झन्डै ८०० तस्बिरहरूमध्ये नेपालमा कोदो संरक्षणमा महिलाको भूमिका सम्बन्धी तस्बिर दोस्रो स्थानमा पर्न सफल भएको हो ।

बर्दघाट, नवलपरासी निवासी फोटोग्राफर राज अधिकारीले स्याङ्जादेखि पोखरा आउने क्रममा पुम्धिभुम्धिकी विष्णु माया बरालको कोदो काट्दै गरेको फोटो खिचेर प्रतियोगितामा सहभागी भएका थिए ।

सांस्कृतिक र पौष्टिक महत्वका साथ कोदो नेपाली घरपरिवार, विशेष गरी ग्रामीण क्षेत्रको अभिन्न अङ्ग बनेको र कोदोको संरक्षणमा नेपालका ग्रामीण महिलाहरूको ठुलो भूमिका रहेको फोटोग्राफर अधिकारीले क्याप्सन दिएका छन्।

फोटोग्राफर अधिकारी विगत पाँच वर्षदेखि प्रकृति तथा संस्कृति संरक्षण गर्ने अभिप्रायले फोटोग्राफी क्षेत्रमा लागिरहेका छन् । उनी कृषि तथा वन विज्ञान विश्वविद्यालयमा ग्रामीण समाजशास्त्र विषयमा कृषि स्नातकोत्तर अध्ययनरत विद्यार्थी पनि हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖