• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

स्थानीय कर नतिरी ‘एमबीएस’ एक्स्पो, प्रधानमन्त्रीले उद्घाटन गर्दै


  • धनकुटा खबर
  • .

६ पुस, विराटनगर । मोरङ व्यापार संघले आयोजना गर्ने ‘मोरङ व्यापार संघ एक्स्पो (एमबीएस एक्स्पो)२०२३’ को स्थानीय कर नतिरेको पाइएको छ ।

एक्स्पोको उद्घाटन आज शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्दैछन् । एक्स्पो आयोजक समितिले स्थानीय सरकारलाई तिर्नुपर्ने मनोरञ्जन कर अहिलेसम्म तिरेको छैन ।

कोशी प्रदेश आर्थिक ऐन २०८० अनुसार महानगरपालिकामा महोत्सव आयोजना गर्दा प्रतिदिन पाँच हजार मनोरञ्जन कर अग्रिम बुझाउनु पर्छ ।

पुस ६ गतेदेखि १० गतेसम्म आयोजना हुने एक्स्पोको मनोरञ्जन कर तिर्न विराटनगर महानगरपालिकाले गत मंसिर २८ गते नै मोरङ व्यापार संघलाई लिखित पत्राचार गरेको थियो । त्यसपछि पटक पटक आग्रह गर्दा पनि मनोरञ्जन कर आयोजकले नतिरेको महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाका वित्तीय व्यवस्थापन महाशाखा प्रमुख सरोज गौतमका अनुसार मेला महोत्सव आयोजना गर्दा मनोरञ्जन कर दैनिक पाँच हजार, प्रवेश टिकटको प्रति टिकट पाँच प्रतिशत र महोत्सव भित्र सञ्चालन हुने विभिन्न मनोरञ्जन कियाकलापमा विक्री हुने प्रति टिकट पाँच प्रतिशत कर तिर्नुपर्छ । एक्स्पोमा स्टल भाडामा लगाउँदा १० प्रतिशत बहाल कर पनि महानगरपालिकालाई बुझाउनुपर्छ ।

एक्स्पो आयोजकलाई पटक पटक आग्रह गर्दा पनि अग्रिम मनोरञ्जनकर दाखिला नगरेको उनले जानकारी दिए ।

एक्स्पो आयोजक समिति संयोजक अनिलकुमार शाहले कर तिर्ने बताए । मनोरञ्जन करको विषयमा भने उनले जतिको बिल बनाउँछन् त्यती नै तिरिदिने बताए । ‘जतिको बिल बनाउँछ भन्नुहोस् न उसलाई(महानगरपालिका), कतिको बनाउँछन् तिर्दिन्छौं,’ उनले भने, ‘उनले भने जतिको बिल बनाएर दियो त्यती तिर्न तयार छौं ।’

विराटनगर महानगरपालिका–२ शंकरपुर मार्गमा आजदेखि सुरु हुने मोरङ व्यापार संघ एक्स्पो–२०२३ पुस १६ गतेसम्म सञ्चालन हुनेछ ।

एक्स्पोमा कृषिजन्य उत्पादन, पर्यटन, हस्तकला, अटोमोबाइल र औद्योगिक प्रदर्शनीका लागि २४० वटा स्टल राखिएका छन् ।

एक्स्पो आयोजना गर्दा करिब ४ करोड खर्च हुने बताएको आयोजक समितिले एक्स्पोमा १५ करोड रुपैयाँभन्दा बढीको कारोबार हुने बताएको छ । एक्स्पोमा स्वदेशी औद्योगिक र कृषि उत्पादनसहित भारत, बंगलादेश र पाकिस्तानका औद्योगिक उत्पादनको प्रदर्शनी हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖