• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

अर्थ मन्त्रालयलाई बोर्डको जवाफ : स्टक एक्सचेञ्ज लाइसेन्सबारे थप अध्ययन आवश्यक छैन


  • धनकुटा खबर
  • .

६ पुस, काठमाडौं । नेपाल धितोपत्र बोर्ड सञ्चालक समितिले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्सका लागि थप अध्ययन गर्नु नपर्ने भन्दै आवश्यक निर्णय गरिदिन सरकारलाई अनुरोध गर्ने भएको छ ।

शुक्रबार बिहान बसेको सञ्चालक समितिको बैठकले बोर्डले अध्ययन गरेर नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया अगाडि बढाएकोले आवश्यक निर्णय गरिदिने अर्थ मन्त्रालय मार्फत नेपाल सरकारलाई आग्रह गर्ने निर्णय भएको बोर्ड स्रोतले जनाएको छ ।

२८ वैशाखमा नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले थप अध्ययन गर्नुपर्ने भन्दै स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया रोक्न नेपाल धितनोपत्र बोर्डलाई निर्देशन दिएको थियो । सोही अनुसार बोर्ड सञ्चालक समितिले लाइसेन्स प्रक्रिया रोक्न निर्णय गरेको थियो ।

स्कट एक्सचेञ्जको लाइसेन्स प्रक्रिया रोक्न निर्देशन दिएको ७ महिनासम्म पनि कुनै निर्णय नभएपछि गत शुक्रबार बसेको बोर्ड सञ्चालक समितिको बैठकले स्टक एक्सचेञ्जको लाइसेन्सको विषयमा आवश्यक निर्णय गरिदिन भन्दै अर्थ मन्त्रालयलाई पत्राचार गरेको थियो ।

अर्थ मन्त्रालयले बोर्डको पत्रलाई थप स्पस्ट बनाउन भन्दै मन्त्रिपरिषद्‍मा नलगी धितोपत्र बोर्डमा फिर्ता पठाएको थियो । स्टक एक्सचेञ्जको लाइसेन्सका लागि अध्ययन गर्न आवश्यक छ कि छैन भनेर समेत मन्त्रालय बोर्डसँग स्पस्ट हुन खोजेको थियो ।

साथै अर्थ मन्त्रालय नभई मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्ने भएकोले सोही अनुसारको पत्र पठाउन भन्दै मन्त्रालयले बोर्डलाई पत्र फिर्ता पठाएको थियो । मन्त्रालयले अध्ययन आवश्यक छ कि छैन भनेर स्पष्ट पार्न भनेपछि बुधबार बिहान धितोपत्र बोर्डको सञ्चालक समितिको बैठक बसेको थियो ।

उक्त बैठकमा अर्थ मन्त्रालयको पत्रको जवाफका सम्बन्धमा छलफल गरी बोर्डको व्यवस्थापनको अधिकारीलाई निर्णयको माइन्युट तयार गर्नेगरी छलफल सकिएको थियो । तर, उक्त निर्णयमा माइन्युट हुन अलमल भएपनि शुक्रबार सोही विषय सहित अन्य एजेण्डमा समेत छलफल गर्नेगरी बोर्ड सञ्चालक समितिको बैठक बसेको थियो ।

बोर्डले अध्ययन गरेर लाइसेन्स दिन लागेको भन्दै थप अध्ययन गर्न आवश्यक नरहेको र नेपाल सरकारले अध्ययन गर्न आवश्यक देखेमा सोही अनुसारको निर्णय गर्न आग्रह गर्दै अर्थ मन्त्रालय मार्फत पत्र पठाउने निर्णय भएको स्रोतको दाबी छ ।

अब नेपाल सरकार मन्त्रिपरिषद्ले लाइसेन्स प्रक्रिया अगाडि बढाउन निर्देशन दिएमा बोर्डले प्रक्रिया अगाडि बढाउनेछ । यदि थप अध्ययन गर्ने भनेर अध्ययन समिति गठन गरेमा भने केही समय लाग्नेछ ।

२ असोज २०७९मा ४५ दिनको म्याद राखेर धितोपत्र बोर्डले स्टक एक्सचेञ्जको लाइसेन्सका लागि आवेदन माग गरेको थियो । तर, आवेदन दिन १० दिन बाँकी हुँदा सर्वोच्च अदलातमा मुद्दा गरेर अन्तरिम आदेश दिएपछि बोर्डले आवेदन प्रक्रिया रोकेको थियो ।

आदालतले २६ चैत २०७९ मा ऐन अनुसार नै लाइसेन्स प्रक्रिया अगाडि बढाएको भन्दै रिट खारेज गरेपछि ३० चैत २०७९ पुनः बाँकी रहेको अवधिका लागि आवेदन माग गरेको थियो । जसमा ३ वटा कम्पनीको आवेदन परेको हो ।

हिमायलन स्टक एक्सचेञ्ज, नेशनल स्टक एक्सचेञ्ज र अन्नपूर्ण स्टक एक्सचेञ्जको नामबाट बोर्डमा आवेदन परेको थियो । बोर्डले लाइसेन्सका लागि थप प्रक्रिया अगाडि नबढाउँदै २८ वैशाख २०८० मा मन्त्रिपरिषद्ले लाइसेनस प्रक्रिया रोक्न निर्देशन दियो भने प्रतिनिधि सभा अन्तरगतको अर्थ समितिले पनि २०८० जठमा लाइसेन्स प्रक्रिया रोक्न निर्देशन दिएको थियो ।

अर्थ समितिले भने दशैं अगाडि नै लाइसेनस प्रक्रिया अगाडि बढाउन निर्देशन दिइसकेको छ । तर, मन्त्रिपरिषद्ले बाटो नफुकाउँदा प्रक्रिया रोकिएको छ ।

यसैबीच धितोपत्र बोर्डले भने अदालत र अर्थ समितिले समेत लाइसेन्स दिन बाटो खोलेको भन्दै मन्त्रिपरिषद्ले अध्ययन गर्ने वा लाइसेन्स अगाडि बढाउने विषयमा आवश्यक निर्णय गरिदिन भन्दै गत शुक्रबार पत्राचार गरेको हो ।

बोर्डमा आवेदन दिएको हिमालयन स्टक एक्सचेञ्जले व्यावसायिक घराना शंकर समूहको अगुवाइमा बोर्डमा आवेदन दिएको छ । शंकर ग्रुपका शंकरलाल अग्रवालसँगै नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष तथा गोल्छा अर्गनाइजेसनका शेखर गोल्छा, महासंघका पूर्वअध्यक्षहरु पशुपति मुरारका, भवानी राणाका साथै खेतान ग्रुपका राजेन्द्र खेतान, लक्की ग्रुपका सतिशलाल मोर, दुगड ग्रुपका विवेक दुगड, ज्योति समूहका शौरभ ज्योती लगायतका ठूला व्यापारी र व्यावसायिक घरानाको लगानी गर्नेगरी आवेदन दिएको हो । यसमा रोहित गुप्ता, आशिष श्रेष्ठ, जुनी गुरुङ र दीपक भट्टको पनि लगानी छ ।

गैरआवासीय नेपाली तथा नेपालका केही व्यावसायिक घरानाको समेत लगानीमा ‘नेशनल स्टक एक्सचेञ्ज’को नामबाट अर्को आवेदन परेको थियो । दीपक तिमल्सिनाको नेतृत्वमा दर्ता भएको उक्त कम्पनीमा एनआरएनहरुको लगानी रहेको छ । कम्पनीमा एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्वअध्यक्ष जीवा लामिछाने तथा कुल आचार्य, बद्री केसी लगायतको लगानी छ ।

यस्तै नेसनल स्टक एक्सचेञ्जमा केडिया समूहको पनि लगानी छ । मनोज केडिया, अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ लगायत व्यावसायिक घरानाको समेत लगानी छ ।

बोर्डमा आवेदन दिएको अन्नपूर्ण स्टक एक्सचेञ्जमा गणेशकुमार श्रेष्ठ, सुरेन्द्रराज वाग्ले, मुक्ति बोध न्यौपाने, अनिल सापकोटा, प्रकाशकुमार श्रेष्ठ, शेखर सुवेदी र बलराम उप्रेतीलाई सञ्चालकको रुपमा प्रस्ताव गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖