• Sunday 4th of October 2026

डोल्पामा भेटिएको ताल तिलिचोभन्दा पनि अग्लो स्थानमा रहेको दाबी


  • धनकुटा खबर
  • .

काठमाडौं । मनाङको तिलिचो तालभन्दा पनि अग्लो स्थानमा अर्को ताल फेला पारेको डोल्पाका जनप्रतिनिधिहरुले दाबी गरेका छन् ।

डोल्पाको डोल्पोबुद्ध गाउँपालिका वडानम्बर ६ फालगाउँमा तिलिचो ताल रहेको उचाइभन्दा पनि अग्लो स्थानमा नयाँ ताल फेला पारेको सो पालिकाका जनप्रतिनिधिहरुले दाबी गरेका हुन् ।

तिलिचो ताल समुद्र सतहदेखि ४ हजार ९१९ मिटर उचाइमा छ । सबैभन्दा उचाइमा रहेको रेकर्ड हालसम्म तिलिचोकै नाममा छ ।

तर डोल्पाको फालगाउँमा भेटिएको ताल समुद्र सतहदेखि ५ हजार १९० मिटर उचाइमा रहेको डोल्पोबुद्ध गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष नुर्बु डम्डुल गुरुङले दाबी गरे ।

आफूहरुसँग भएको जीपीएसबाट ताल रहेको स्थानको उचाइ ५ हजार १९० मिटर मापन गरेको वडाध्यक्ष गुरुङले बताए । उनका अनुसार यो ताल नेपाल-चीनको १५ नम्बर सीमा स्तम्भबाट नजिक पर्दछ ।

डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोख्रेलले डोल्पोबुद्ध गाउँपालिकाका उपाध्यक्ष र वडा नम्बर ६ का वडाअध्यक्ष सहितको टोलीले तिलिचोभन्दा पनि अग्लो स्थानमा ताल फेला पारेको जानकारी आफूलाई गराए पनि त्यसको आधिकारिकता पुष्टि हुन बाँकी रहेको बताए ।

‘तिन्जे भन्ने ठूलो फाँट छ । त्यहाँबाट दुई घण्टा हिँडेपछि तालमा पुगिन्छ रे । त्यहाँ तीनवटा ताल फेला पार्यौं भन्नुभएको छ । एउटा ठूलो र दुई वटा साना-साना ताल छन् रे,’ प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोख्रेलले अनलाइनखबरसँग भने, ‘उहाँहरुले तीमध्ये कुन्ख्येन फालक ताल तिलिचो भन्दा पनि अग्लो स्थानमा छ, प्रचार प्रसार गर्नपर्यो भनेर मकहाँ आउनु भएको थियो ।’

आफूले फाल गाउँमा पनि ताल छ भन्ने कुरा पहिलोपटक थाहा पाएको भन्दै प्रजिअ पोख्रेलले सरकारको आधिकारिक निकायबाट त्यसको पुष्टि गर्ने प्रक्रिया सुरु गरेको जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖