• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

बाहिर बसेर केही पदका लागि बार्गेनिङ गर्नुभन्दा एमाले सरकारमा आओस् :शेखर


  • धनकुटा खबर
  • .

काठमाडौं,१९ पुस । आसन्न राष्ट्रिय सभा निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई पनि केहि सिट दिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रयासप्रति कांग्रेस नेता डा.शेखर कोइरालाले आपत्ति जनाएका छन् ।

कोइरालाले सत्ता गठबन्धनका दलहरूमध्ये कसैलाई टिआरसी विधेयक र कसैलाई विभिन्न समयमा भएका काण्डबाट जोगिन एमालेको साथ चाहिएको पनि बताएका छन्।

‘हिजो कोशीमा एमालेको सहयोगमा सरकार बनाउँदा केन्द्रको गठबन्धन नै धरापमा पर्यो भनेर रोइलो गर्नेहरू नै आज राष्ट्रिय सभा निर्वाचनमा एमालेसँग मिल्न थालेछन्’, उनले भनेका छन्,‘हुन त यो श्रृंखला एमालेलाई संसदीय समितिमा तीन सभापति दिने दिनबाटै सुरु भएको हो।’

उनले एमालेको साथबिना असुरक्षित महसुस गरेकाले सत्ता गठबन्धनले सहमतिको नयाँ कार्ड फ्याकेको पनि बताएका छन् ।

‘कारण स्पष्ट छः सत्ता गठबन्धनका कुनै दललाई टिआरसी विधेयकमा र कुनै दललाई विभिन्न काण्डबाट बच्न एमालेको साथ चाहिएको छ’,उनले अगाडि भनेका छन्, ‘अनि एमाले, एक-दुई सिटका लागि जे पनि हस् यदि यसो होइन भने केन्द्र र सबै प्रदेशमा एमाले पनि सरकारमा आए भइगयो। किन बाहिर बसेर केही पदका लागि बार्गेनिङ गर्नु ? ’

संसदीय समितिका तीन सभापति र राष्ट्रिय सभाका दुई तीन सिट पाएपछि प्रमुख प्रतिपक्षले राष्ट्रिय मुद्दामा आँखा चिम्लनु झनै दुर्भाग्यपूर्ण रहेको उनले बताएका छन्।

‘टिआरसीका सम्बन्धमा सर्वोच्च अदालतको गम्भीर प्रकृतिका मुद्दामा क्षमा दिन नहुने निर्देशनात्मक आदेश र मानव आधिकारका राष्ट्रिय तथा अन्तराष्ट्रिय कानूनको अधीनमा रहेर द्वन्द्वबाट पीडितहरूले पर्याप्त क्षतिपूर्ति पाउने गरी मात्रै विधेयक आउनु पर्ने कुरामा स्पष्ट हुनु जरुरी छ’,उनले भनेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖