• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

त्रिशूलीमा खसेको जीपको इन्ट्री प्वाइन्ट खोज्दै प्रहरी


  • धनकुटा खबर
  • .

काठमाडौँ । नारायणगढ–मुग्लिङ सडक खण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुल नजिकबाट त्रिशूलीमा खसेको बीआर–०९ जीसी १४३० नम्बरको जीप भेटिएको छ । सशस्त्र प्रहरीको गोताखोर टोलीले सो जीप नदिबाट निकालेका हुन् ।

भारतीय नम्बर प्लेटको जीप ‘कहाँबाट कहाँ जाँदै थियो ?’ भन्नेबारे खुलेको छैन । जीपको नम्बरको आधारमा ‘इन्ट्री प्वाइन्ट’ पत्ता लगाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी श्रीराम भण्डारीले रातोपाटीलाई बताए । भारतीय नम्बरको सवारी–साधन नेपाल आउँदा प्रवेश अनुमति लिएर रसिद काटेर आउनुपर्छ ।

पानीले भिजेको एक जना युवक ३ नम्बर पुलबाट भरतपुरतर्फ जाने गाडीमा चढेर गएको ट्याङ्कर चालकले प्रहरीलाई बताएका छन् । डिएसपी भण्डारी भन्छन्–‘ट्याङ्कर चालकले बताए अनुसार उनी चालक हुन सक्छन् तर, अहिलेसम्म ती व्यक्ति सम्पर्कमा आएका छैनन् ।’

नदीमा बत्ती बलेको देखेपछि स्थानीयले बिहान ४ बजेर ५० मिनेटमा दुर्घटनाबारे प्रहरीलाई खबर गरेका हुन् । गाडीको खोजीमा सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्स्पेक्टरको कमान्डमा ७ जना गोताखोर सहित १० जना परिचालित थिए ।

उद्धारमा नम्बर–१७ गण चितवनबाट इन्स्पेक्टरको कमान्डमा १७ जना फौज परिचालन गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले रातोपाटीलाई बताए । जीपमा सवार यात्रुको बारेमा केही खुलेको छैन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖