काठमाडाैं, २६ असाेज । घरमै होटल वा राजमार्गको ढावा स्टाइलको बाक्लो, सुगन्धित र स्वादिलो ढावा दाल करी बनाउने सजिलो तरिका तल दिइएको छ। ढावाको दालमा विशेष गरी बटर, लसुन र स्मोकी (धुवाँको) फ्लेभरले असाध्यै राम्रो स्वाद दिन्छ।
आवश्यक सामग्रीहरू
दाल: १ कप (मुख्यतया मुसुरोको दाल आधा कप र अहर वा राजमा/चना दाल आधा कप मिसाउँदा स्वाद झन् राम्रो हुन्छ, तर मात्र मुसुरो वा अहरले पनि बनाउन सकिन्छ)
पानी: ३ देखि ४ कप
बेसार: आधा सानो चम्चा
नुन: स्वादअनुसार
घ्यू वा बटर: २-३ ठूला चम्चा (ढावा स्टाइलका लागि घ्यू वा बटर अनिवार्य जस्तै हुन्छ)
तेल: १ ठूलो चम्चा
जिरा: १ सानो चम्चा
हिङ: १ चिम्टी (ढावाको खास स्वादका लागि)
सुकेको रातो खुर्सानी: २ वटा
लसुन: १ ठूला चम्चा (मसिनो गरी काटिएको – लसुन अलि बढी नै राख्नुपर्छ)
अदुवा: १ सानो चम्चा (किसिएको वा काटिएको)
प्याज: १ वटा (मसिनो गरी काटिएको)
गोलभेडा (टमाटर): २ वटा (प्युरी वा मसिनो गरी काटिएको)
हरियो खुर्सानी: २ वटा
काश्मिरी रातो खुर्सानीको धुलो: १ सानो चम्चा (राम्रो रङ्गका लागि)
जिरा-धनियाँको धुलो: १ सानो चम्चा
गरम मसला: आधा सानो चम्चा
कसुरी मेथी (सुकेको मेथी पत्ता): १ सानो चम्चा (ढावा फ्लेभरका लागि अति आवश्यक)
ताजा हरियो धनियाँ: काटिएको
बनाउने तरिका
दाललाई राम्ररी धोएर प्रेसर कुकरमा ३-४ कप पानी, बेसार र थोरै नुन हालेर ३ देखि ४ वटा सिटी लगाउनुहोस् (दाल राम्ररी गलेको हुनुपर्छ)। कुकर खोलेर दाललाई अलिकति चम्चाले घोल्नुहोस्। एउटा कराहीमा १ चम्चा तेल र १ चम्चा घ्यू तताउनुहोस्। त्यसमा जिरा, हिङ र सुकेको रातो खुर्सानी हालेर पड्काउनुहोस्। त्यसपछि मसिनो गरी काटेको लसुन र अदुवा हाल्नुहोस्। लसुनको रङ्ग हलुका खैरो (गोल्डेन ब्राउन) हुनुपर्छ, यसले ढावाको जस्तै मिठो बासना दिन्छ। अब मसिनो गरी काटेको प्याज हालेर सुनौलो नभएसम्म भुट्नुहोस्। प्याज भुटिएपछि त्यात काश्मिरी रातो खुर्सानीको धुलो, जिरा-धनियाँको धुलो र टमाटर राख्नुहोस्। मसलाबाट तेल वा घ्यू छुट्टिउन्जेलसम्म यसलाई राम्ररी पकाउनुहोस्।
अब पाकिसकेको दाललाई यो मसलामा खन्याउनुहोस् र राम्ररी चलाउनुहोस्। दाल धेरै बाक्लो भएमा आवश्यकता अनुसार मनतातो पानी मिसाउनुहोस् र ५ देखि ७ मिनेटसम्म मिडियम आँचमा उम्लन दिनुहोस् ताकि सबै मसलाको स्वाद दालमा राम्ररी बसोस्। अन्त्यमा गरम मसला र कसुरी मेथी लाई हातले मागेर दालमा हाल्नुहोस् र राम्ररी चलाएर आँच बन्द गर्नुहोस्।
यदि तपाईं पूर्ण रूपमा ढावाको स्मोकी स्वाद चाहनुहुन्छ भने, एउटा सानो कोइलाको टुक्रालाई बालेर सानो कचौरामा राखी दालको बीचमा राख्नुहोस्, त्यसमा थोरै घ्यू वा तेल हालेर तुरुन्तै कुकर वा प्यानको बिर्को बन्द गर्नुहोस् (२ मिनेटसम्म)। यसले ढावा जस्तै सुगन्ध दिन्छ। माथिबाट ताजा हरियो धनियाँ र १ चम्चा बटर वा घ्यू थपेर तातोततातो जिरा राईस, नान वा रोटीसँग सर्भ गर्नुहोस्।
