• Monday 5th of October 2026

माइक्रोसफ्टले बिदा गर्‍यो १९०० कर्मचारी


  • धनकुटा खबर
  • .

अमेरिकी कम्पनी माइक्रोसफ्टले आफ्ना गेमिङ महाशाखामा कार्यरत करिब २ हजार कर्मचारीलाई अवकाश दिने भएको छ।

एक्सबक्सका प्रमुख फिचर स्पेन्सरले कर्मचारीहरुलाई लेखेको पत्रमा कूल २२ हजार कर्मचारीमध्ये १९ सय जना कटौती गर्ने योजना कम्पनीले बनाएको उल्लेख गरेका छन् ।

कल अफ ड्युटी तथा वारक्राफ्ट सिरिज जस्ता चर्चित भिडियो गेम निर्माता कम्पनी एक्टिभिजन ब्लिजार्ड खरीद गरेको ३ महिनापछि माइक्रोसफ्ट कम्पनीले यस्तो निर्णय गरेको हो । माइक्रोसफ्टले ६९ अर्ब डलरमा एक्टिभिजन ब्लिजार्ड खरीद गरेको थियो ।

आफ्नो पत्रमा स्पेन्सरले सहकर्मीहरुलाई बिदा गर्नुपर्दा आफुलाई अत्यन्तै दु:ख लागेको उल्लेख गरेका छन् ।

द भर्जका अनुसार कर्मचारी कटौतीको यो निर्णयबाट एक्सबक्स डिभिजन र जेनिम्याक्समा कार्यरत जनशक्ति प्रभावित हुनेछन् ।

कर्मचारीहरुलाई माइक्रोसफ्ट स्वयंले पठाएको पत्रमा समेत त्यसको पुष्टि गर्दै अवकासमा जाने कर्मचारीहरुलाई कानून बमोजिम सुविधा प्रदान गरिने प्रतिबद्धता जनाइएको छ ।

साथै माइक्रोसफ्टले ओडिस्से नामक सर्भाइभल गेम प्रोजेक्ट पनि बन्द गरिएको पुष्टि गरेको छ।

स्मरण रहोस् नियामक निकायसँगको श्रृंखलाबद्ध संघर्षपश्चात् माइक्रोसफ्टले गत सेप्टेम्बरमा एक्टिभिजन ब्लिजार्डका साथै क्यान्डीक्रस निर्माता किङ खरिद गरेको थियो ।

उक्त सम्झौतापछि एक्टिभिजनका सिइओ बब्बी कोटिकले कम्पनी छाडेका थिए ।

साथै पछिल्लो समाचार सार्वजनिक भएसँगै ब्लिजार्डका प्रमुख माइक यीबाराले पनि कम्पनी छाडेको घेाषणा गरेका छन् । उनी माइक्रोसफ्टका पूर्वकर्मचारी समेत थिए ।

पछिल्लो समय भिडियो गेम उद्योगमा कर्मचारी कटौतीको लहर चलेको छ । यो हप्ताको सुरुमा लिग अफ लेजेन्ड्सको निर्माता रायोट गेम्सले आफ्ना कूल कर्मचारीको ११ प्रतिशत कटौती गर्ने घोषणा गरेको थियो । त्यस्तै गेम इन्जिन निर्माता युनिटीले १८ सय कर्मचारी कटौती गरेको थियो भने अमेजन स्वामित्वको स्टि्रमिंग प्लाटर्फमले ५ सय कर्मचारी कटौती गर्ने निर्णय गरेको थयो ।

गेमिङ उद्योगमा गतवर्ष मात्रै कम्तिमा १० हजार जनाले रोजगारी गुमाएको तथ्यांक छ ।

-बीबीसी

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖