• Monday 5th of October 2026

कोशीमा एमालेलाई निषेध गर्ने ‘पहिचानवादी’ को धम्की- ओली, योगेश र क्षितिज थेबेलाई कार्यक्रममा नबोलाउन चेतावनी


  • धनकुटा खबर
  • .

विराटनगर । प्रदेश नम्बर १ पुन नामाङ्कन संघर्ष समितिले धरानमा हुने युवा संघ कोशीको प्रदेश अधिवेशनका लागि तयार पारिएको प्रचार सामाग्रीमा कोशी शब्द नलेख्न चेतावनी दिएको छ ।

बिहीबार विज्ञप्ति जारी गर्दै संघर्ष समितिले कोशी लेखिएको बोर्ड, ब्यानर, छाप मेट्ने, हटाउने, च्यात्ने कार्य निरन्तर रहेको भन्दै प्रचार सामाग्रीमा कोशी नलेख्न चेतावनी दिएको हो ।

विज्ञप्तिमा कोशीको पक्षमा मतदान गर्ने ८२ जना प्रदेश सभा सदस्यलाई समेत अधिवेशनमा नवोलाउन आग्रह गरेको छ ।

विज्ञप्तिमा भनिएको छ ‘कोशी’ नाम राख्न हस्ताक्षर गर्ने ८२ जनामध्येको कुनै पनि प्रदेश सांसद र जायज माग सहितको जनताको आन्दोलनलाई अपशब्द प्रयोग गरी गाली गर्ने पूर्व प्रधानमन्त्री केपी ओली, पूर्व मन्त्री योगेश भट्टराईलार्य नबोलाउन आग्रह गर्दछौ ।

विज्ञप्तिमा युवा सङ्घका अध्यक्षे क्षितिज थेबेलाई कार्यक्रममा नबोलाउन आयोजक पक्षलाई आग्रह गरिएको छ । एमाले निकट युवा सङ्घको प्रदेश अधिवेशन भदौ २३ र २४ गते धरानमा हुँदैछ ।

अधिवेशनको मिति नजिक आउँदै गर्दा सङ्घर्ष समितिले विज्ञप्ति जारी गर्दै भदौ ८ गते धनकुटाको चौबिसे गाउँपालिका–६, राजा रानी टुक्रे, तयालुङ चोकमा कालो झन्डा देखाउने क्रममा पहिचानवादी नेता कार्यकर्ताहरू दीवा चेम्जोङ, बुलुन लिम्बु, शुक्रबहादुर लिम्बु, सानुकुमार लिम्बु, आरामकुमार लिम्बु लगायतलाई जिल्ला प्रहरी कार्यालय धनकुटाले लगाइएको मुद्दा फिर्ता लिनुपर्ने माग अघि सारेको छ । विज्ञप्तिमा धरानमा दुई यस अघि युवा सङ्घ सँग वार्ता भए पनि निष्कर्षमा नपुगेको आन्दोलनका कार्यक्रम यथावतै रहेको उल्लेख छ ।

विज्ञप्तिमा किराँत याक्थुङ्ग चुम्लुङ अध्यक्ष प्रेम येक्तेन, पहिचान सहितको प्रदेश नम्बर १ पुन नामाङ्कन अभियान समितिका डाकेन्द्र सिङ थेगिम,नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष ग्याल्ेज शेर्पा,किराँत राई यायोख्खाका अध्यक्ष जीवन हाताचो,नेपाल शेर्पा सङ्घका महासचिव लाक्पा शेर्पाले हस्ताक्षर गरेका छन् ।

यस अघि युवा सङ कोशीको अबिधेशन धरान स्थित याक्थुङ्थ चुम्लुङको भवनमा गर्ने भनिए पनि विरोध भएपछि लाङ्घाली सामुदायिक वनको भवनमा गर्ने तयारी भएको छ ।

युवा संघले धरानबाट कार्यक्रम नसार्ने बताइरहँदा मुठभेडको अवस्था बनेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖