• Monday 5th of October 2026

खुकुरी प्रहार प्रकरण : कांग्रेस सह-महामन्त्री यादवलाई वीर अस्पतालमा सार्ने तयारी


  • धनकुटा खबर
  • .

खुकुरी प्रहारबाट घाइते भएका नेपाली कांग्रेसका सह-महामन्त्री महेन्द्र यादवलाई आईसीयूबाट क्याबिनमा सार्ने तयारी भइरहेको छ । राष्ट्रिय ट्रमा सेन्टरका सर्जन डा. प्रमोदकुमार यादवले घाइते यादवको स्वास्थ्य अवस्था स्थिर रहेको लोकान्तरलाई बताए ।

‘उहाँको स्वास्थ्य अवस्था स्थिर छ । आज हामीले उहाँको ड्रेसिङ गरेका छौं,’ सर्जन यादवले लोकान्तरसँग भने, ‘अबको केहीबेरमा उहाँलाई वीर अस्पतालको क्याबिनमा सार्ने तयारी गरेका छौं ।’

रिपोर्टर्स क्लबको कार्यक्रमबाट बाहिर निस्किने क्रममा बुधवार नुवाकोटका श्यामबहादुर सापकोटाले नेता यादवमाथि खुकुरी प्रहार गरेका थिए ।खुकुरी प्रहारबाट घाइते भएका यादवलाई उपचारका लागि तत्काल राष्ट्रिय ट्रमा सेन्टरमा भर्ना गरिएको थियो ।

ट्रमा सेन्टरमा न्यूरो सर्जन डा. नरेन्द्र सालिकेको नेतृत्वमा ट्रमा सेन्टरका मेडिकल सुपरिटेन्डेन्ट तथा अर्थोसर्जन डा. बद्री रिजाल र जेनरल सर्जन डा. प्रमोदकुमार यादवको टोलीले घाइते यादवलाई अपरेसन थिएटरमा टाँका लगाएका थिए । घाइते यादवलाई टाउकोमा १० वटा टाँका लगाएर बुधवार नै अब्जरभेसनका लागि आईसीयूमा सारिएको थियो ।

अहिले यादवको स्वास्थ्य अवस्था स्थिर भएकाले उनलाई वीर अस्पतालको क्याबिन बेडमा सार्ने तयारी भएको हो ।
यादवमाथि खुकुरी प्रहार गर्ने सापकोटालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖