• Monday 5th of October 2026

दिमागमा चिप प्रत्यारोपण गरिएका बिरामीले सोचेकै भरमा चलाए कम्प्युटर !


  • धनकुटा खबर
  • .

काठमाडौं । न्युरालिङ्कका संस्थापक एलन मस्कले दिमागमा चिप प्रत्यारोपण गरिएका पहिलो बिरामी पूर्णतः निको भएको र उनले सोचेकै भरमा कम्प्युटर माउस चलाएको दाबी गरेका छन् । सोमबार आफ्नो सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै उनले यस बारे जानकारी दिएका हुन् ।

“प्रगति राम्रो देखिएको छ, र बिरामी पूर्णतः निको भएको देखिन्छन्, हामीले सोचे अनुरूप उनमा कुनै बिरामीको असर देखिएको छैन,” मस्कले भनेका छन् “बिरामी सोचेरै कम्प्युटरको स्क्रिनमा माउस यताउता गर्न सक्षम भएका छन् ।”

न्युरालिङ्क ती बिरामीबाट सम्भवभएसम्म धेरैभन्दा धेरै माउस क्लिक प्राप्त होस् भन्ने प्रयासमा रहेको उनको भनाई छ । थप विवरणका लागि अनुरोध गरिएकोमा न्युरालिङ्कले त्यसबारे तत्काल कुनै प्रतिक्रिया नदिएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

सेप्टेम्बरमा मानवमाथि परीक्षण गर्ने स्वीकृति प्राप्त गरेपछि कम्पनीले गत महिना मात्रै हिलो पटक मानिसको दिमागमा कम्प्युटर चिप प्रत्यारोपणमा सफलता हात पारेको थियो । अध्ययन प्रयोजनका लागि रोबोटको सहयोगमा सर्जरी गरेर मानिसको दिमागमा ब्रेन-कम्प्युटर इन्टरफेस प्रत्यारोपण गरिएको हो ।

जुन दिमागमा रहेको शरीरको चाल नियन्त्रण गर्ने भागमा राखिएको कम्पनीले जनाएको छ । मानसलाई आफ्नो सोचाइबाटै कम्प्युटर क्रसर तथा किबोर्ड नियन्त्रण गर्ने कार्यमा सक्षमता दिलाउने प्रारम्भिक उद्देश्यका साथ यो परीक्षण गरिको उल्लेख छ ।

संस्थापक मस्क न्युरालिङ्कलाई लिएर निकै महत्वाकाङ्क्षी देखिएका छन् । उनले ओबिसिटी, अटिजम, डिप्रेसन र सिजोफ्रिनिया जस्ता रोग लागेका बिरामीको उपचारका लागि दिमागमा यो चिप जडान गर्न सकिने बताउने गरेका छन् । न्यरालिङ्कको मूल्य गत वर्ष मात्रै पाँच अरब डलर तय भएको थियो ।-टेकपाना

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖