• Monday 5th of October 2026

न्युरालिंकले सार्वजनिक गर्‍यो दिमागमा चिप राखेका व्यक्तिले चेस खेलिरहेको भिडिओ


  • धनकुटा खबर
  • .

हेल्थ टेक कम्पनी न्युरालिंकले दिमागमा चिप प्रत्यारोपण गरिएको पहिलो व्यक्तिको भिडिओ सार्वजनिक गरेको छ।

कम्पनीले बिहीबार नोल्यान्ड आर्बार (जसको दिमागमा पहिलो पटक चिप प्रत्यारोपण गरिएको थियो) ले कम्प्युटर चलाउँदै गरेको भिडिओ सार्वनजिक गरेको हो।

न्युरालिंकका एक इन्जिनियर ब्लिसले नोल्यान्डले कम्प्युटरमा चेस गेम खेलिरहेको भिडिओ खिचेर कम्पनीको आधिकारिक एक्स खाताबाट अपलोड गरेका छन्।

२९ वर्षीय नोल्यान्ड करिब ८ वर्ष अघि डाइभ गर्ने क्रममा दुर्घटनामा परे। दुर्घटनापछि उनको घाँटीभन्दा तलको भाग पक्षघात भयो। पक्षघातपछि दिमाग सक्रिय रहे पनि उनलाई अतिरिक्त अन्य क्रियाकलाप गर्न कठिन भयो।

न्युरालिंकको चिप प्रत्यारोपणपछि भने नोल्यान्डले दिमागको कन्ट्रोलबाट विभिन्न क्रियाकलाप गर्न सकेको बताएका छन्। भिडिओमा उनले आफूलाई चेस खेल्न मन लाग्ने बताउँदै चिप प्रत्यारोपणपछि दिमागको कन्ट्रोबाटै चेस खेल्न सकेको बताएका छन्।

‘मलाई चेस खेल्न मन पर्छ। तर पछिल्ला केही वर्षमा चेस खेल्न कठिन थियो। माउथ स्टिकको प्रयोगमा चेस खेल्ने गर्थेँ,’ नोल्यान्डले भनेका छन्, ‘अहिले म दिमागको कन्ट्रोलबाटै कम्प्युटरमा कर्सर चलाउन सक्छु। चेस खेल्न निकै सजिलो भएको छ। अरू खेलहरू पनि म घन्टौंसम्म खेल्न सक्छु।’

भिडिओमा नोल्यान्डले दिमागको कन्ट्रोलबाटै ब्यागग्राउन्डमा बजिरहेको गीत बन्द गरेका छन्। यसबाहेक उनले आफ्नो अनुभवहरू बताएका छन्। दिमागको कन्ट्रोलबाट विभिन्न क्रियाकलापहरू गर्न सकेको, कम्प्युटर गेमहरू खेल्न सजिलो भएको, भाषाहरू सिकिरहेको जस्ता अनुभव बताएका छन्।

नोल्यान्डले चिप प्रत्यारोपण प्रक्रिया सहज भएको र प्रत्यारोपण पछि कुनै जटिलता नआएको पनि भिडिओमा बताएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖