• Tuesday 6th of October 2026

के कारणले हुन्छ ठूलो आन्द्राको क्यान्सर ? कसरी गर्ने उपचार


  • धनकुटा खबर
  • .

आमाशय र ठूलो आन्द्राको क्यान्सर पछिल्लो समय धेरैमा देखिने गरेको छ । चिकित्सकीय भाषामा यसलाई कोलोरेक्टर क्यान्सर भनिन्छ । ठूलो आन्द्रामा क्यान्सर हुनुका धेरै कारण हुन्छन् । अत्यधिक मात्रामा रातो मासु खाने, प्रशोधित खानेकुरा धेरै खाने, हरियो सागसब्जी कम सेवन गर्ने र व्यायाम नगर्नेहरुमा यस्तो समस्या बढी देखिन्छ ।

पहिले पहिले ५०-६० वर्षका प्रौढ उमेरका व्यक्तिलाई हुने यस्तो क्यान्सर अहिले ४०-४५ वर्षका व्यक्तिलाई पनि भइरहेको छ ।

ठूलो आन्द्राको क्यान्सर हुने कारण

ठूलो आन्द्राको क्यान्सर हुनुमा वंशाणुगत कारण पनि एक हो । परिवारका कुनै सदस्यमा आन्द्राको क्यान्सर भएमा सन्तानमा पनि क्यान्सर हुने सम्भावना रहन्छ । अस्वस्थ खानपान, पोलेको, तारेको र रातो मासु धेरै खानेलाई यस्तो समस्या हुने सम्भावना हुन्छ ।

लक्षण

ठूलो आन्द्राको क्यान्सर हुँदा पखाला लाग्ने, कब्जियत हुने, कालो दिसा आउनु, दिसामा रगत देखिनु, दिसा लागेजस्तो हुनु तर नआउनु, दुब्लाउँदै जानु, खान मन नलाग्नु, पेट डम्म हुने, वाकवाकी लाग्नु, पेट फुल्नु, कमजोर, थाकेको महसुस हुने लक्षण देखिन्छ ।

कसरी थाहा पाउने ?

शरीरमा रगतको मात्रा जाँच गरिरहनुपर्छ । यसका लागि दिसा जाँच गर्ने वा कोलोनोस्कोपी पनि गर्न सकिन्छ । यसमा मलद्वारबाट पाइपभित्र छिराएर जाँच गरिन्छ । यो विधिबाट आन्द्रामा घाउ भएको छ कि छैन ? घाउबाट रगत बगेको छ कि छैन, मासु पलाएको छ किन छैन भनेर जाँच्न सकिन्छ । कतिपय अवस्थामा ठूलो आन्द्रामा मुसा पलाएर रगतको थोपा चुहिरहेको हुन सक्छ । जुन यसबाट थाहा पाउन सकिन्छ ।

उपचार

ठूलो आन्द्राको क्यान्सरको उपचार शल्यक्रियाबाट गरिन्छ । कति भागमा क्यान्सर फैलिएको छ भन्ने थाहा पाउन सिटी स्क्यान गरेर हेरिन्छ । आन्द्रामा सानो सानो मुसा पलाएको छ भने कोलोनोस्कोपी विधिबाट त्यसलाई निकालिन्छ । शल्यक्रिया गर्न नमिलेको अवस्थामा भने किमोथेरापी वा क्यान्सरलाई स्थिर राख्ने औषधिको प्रयोग गरिन्छ ।

रोकथाम

आन्द्रामा क्यान्सर हुन नदिन खानपानमा विशेष ध्यान दिनुका साथै ४५ वर्षको उमेर नाघिसकेपछि पाँच वर्षको एकचोटि कोलोनोस्कोपी जाँच गराउनुपर्छ । यसले सानो आन्द्रामा मासु वा सानो मुसा पलाएको अवस्थामा समयमै उपचार गरेर भविष्यमा क्यान्सर हुने जोखिम कम हुन्छ । तर नेपालमा अधिकांश बिरामी जटिल अवस्थामा मात्र अस्पताल पुग्ने गर्दा समस्या हुने गरेको छ ।

त्यस्तै नियमित व्यायाम गर्ने, हरियो सागपात तथा फलफूल प्रशस्त मात्रामा खाने, तौल नियन्त्रमा राख्ने, सन्तुलित र ताजा खानेकुरा खाने, रातो मासु धेरै नखाने, मासुको सेकुवा, साँधेको वा काँचो मासु नखाने, र धुम्रपान, मध्यपानबाट टाढै बस्ने गर्नुपर्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖