• Tuesday 6th of October 2026

निस्क्रिय बस्नुहुन्छ ? तपाईलाई लाग्नसक्छ यस्तो गंभिर रोग कसरी बच्ने ?


  • धनकुटा खबर
  • .

डा. हेमराज कोइराला/
‘दैनिक एकबट्टा चुरोट खानेलाई क्यान्सर लाग्ने जति धेरै खतरा छ, त्यो भन्दा धेरै खतरा श्रम, व्यायाम र मेहनतबाट पन्छिएर निस्क्रिय जीवन जिउनेहरूलाई छ ।’

सुख-सुविधा र साधनहरूको उपयोगसँगै अल्छे र निस्क्रिय जीवनशैलीले हाम्रो समाजलाई रोगी बनाउँदैछ । अहिले हरेकको घरमा पुग्नुहोस्, कसै न कसैलाई मधुमेह, उच्च रक्तचाप, युरिक एसिड, नसा च्यापिने, हड्डी खिइने जस्तो रोगले ग्रस्त पाउनुहुनेछ ।

यस्तो समस्याबाट छुटकारा पाउन हामीले आफ्नो दिनचर्यामा श्रम, व्यायाम, खेलकुदजस्ता शारीरिक सक्रियतालाई बढाव दिनैपर्छ ।

के गर्न सकिन्छ ?

प्रातःभ्रमण (मर्निङ्ग वाकमा) जाने, दौडने, डोरी (स्किपिङ्ग) खेल्ने, पिटी खेल्ने, टे्रड मिल चलाउने, खेल खेल्ने, पौडी खेल्ने, पैदल यात्रामा जाने, नाच्ने, योग गर्ने, एरोविक्स, जुम्बा, बैले, साल्सा गर्ने, हाइकिङ्ग जाने, बाटामा साइकिल चलाउने, स्टाटिक साइकिल चलाउने, जिम जाने, सिँडी उक्लिने, कम्फुकराँते, उसु खेल्ने, डुङ्गा खियाउने, पानीमा गरिने व्यायामहरू गर्ने, करेसा बारी वा बगैँचाको काममा संलग्न रहने ।

व्यायाम कस्तो हुनुपर्छ ?

विश्व स्वास्थ्य सङ्गठनले स्वास्थ्य रक्षाका लागि गरिने वैज्ञानिक व्यायाममा निम्न विशेषताहरूलाई अपरिहार्य मानेको छ–

१. तीव्रता – व्यायाम मुटु र श्वास-प्रश्वासको गतिलाई बढाउनेे र एकपल्ट सरर्र पसिना फुटाउन सक्ने बराबरको तिव्र हुनु आवश्यक छ ।

२. प्रलम्बितता (लम्बिएको)– व्यायाम कमसेकम १५ देखि ३० मिनेटसम्म नरोकिकन लगातार गरिएको हुनुपर्छ ।

३. नियमितः व्यायाम हप्ताको कम्तिमा ३ पल्ट सम्म दोहोरिएको हुनुपर्छ ।

पूर्वीय स्वास्थ्य विज्ञानले दर्शाएअनुरूप वैज्ञानिक व्यायाममा निम्न आयामहरूको समावेश लाई अपरिहार्य मानेको छ –

१. व्यायाम गर्दा एकपल्ट सरर्र पसिना फुट्नुका साथै मुटु र श्वास-प्रश्वासको गति बढ्नुपर्दछ ।

२. एकपल्ट शरीरका सम्पूर्ण जोर्नीहरू चलाइएको हुनुपर्छ ।

३. व्यायाम मांसपेशी र अस्थिपञ्जरहरूको लागि मात्र नभएर शरीरभित्रका कोमल अङ्गहरू, जस्तैः आन्द्रा, भुँडी, मिर्गौला, कलेजो, फियो, फोक्सो, मुटु र मस्तिष्कजस्ता अङ्गहरूलाई प्रभाव पार्ने किसिमको हुनुपर्छ ।

कसरी गर्ने व्यायाम

१. व्यायाम गर्ने भन्दैमा जथाभावी सुरू गर्नु हुँदैन । यसको पूर्वतयारी पनि गर्नुपर्छ । सकभर प्राकृतिक सौन्दर्यले परिपूर्ण, प्रदूषणरहित, यथेष्ट हावा खेल्ने र प्रकाश भएको ठाउँको चयन गर्नुपर्छ ।

२. सुरु गर्नुभन्दा आधा घण्टा पहिले पर्याप्त र सुरु गर्नु ठिक पहिले दुई घुट्की पानी पिउनुपर्छ भने व्यायाम सकेको लगत्तै पानी पिउनुहुँदैन ।

३. मुटुरोग, मधुमेह, उच्च रक्तचापजस्ता विशेष रोग र अवस्था भएका रोगीले जथाभावी व्यायाम नगरेर चिकित्सकले तोकिदिएको व्यायाम मात्र गर्नुपर्छ ।

४. व्यायाम आˆनो क्षमताले भ्याएसम्म मात्र गर्नुपर्छ, प्रतिस्पर्धामा आएर, जोसिएर जथाभावी गर्न खोज्नुहुदैन । सुरु गर्नुभन्दा पहिले वार्मिङ्ग (अप र शिथिलिकरण-लुजनिङ्ग) व्यायाम गर्नुपर्ने हुन्छ ।

५. व्यायाम विशेषका पहिरन, जस्तै जुत्ता, पेटी, टी-सर्ट, छन् भने पहिरिएर मात्र गर्नुपर्छ । साथै, यी सामग्रीहरू आरामदायी हुनु अत्यन्त जरूरी छ ।

६. व्यायाम गर्दा आत्तिने, तनावमा आउने गर्नुहुदैन । निर्धक्क भई निश्चित समय तोकी नियमित गर्नुपर्छ र व्यायाम सकेपछि एकछिन शिथिल हुनुपर्छ ।

फइदाहरू –

१. व्यायामले शारीरिक तौल सन्तुलित राख्न मद्दत पुर्‍याउँदछ । नियमितरूपमा व्यायाम गर्दा मोटा-घाटाहरूको तौल घट्ने र दुब्ला-पातलाहरूको तौल बढ्दछ ।

२. व्यायामले मुटु, रक्तनली तथा श्वासप्रश्वासका अङ्गहरूलाई स्वस्थ राख्न मदत पुर्‍याउँछ । नियमित व्यायाम गर्दा रगतमा नराम्रो कोलेस्टेरोल घटेको र राम्रो कोलेस्टेरोल बढेको पाइएको छ, फलतः मुटु तथा रक्तनलीका रोगहरू लाग्ने जोखिम कम हुन जान्छ । उच्च रक्तचाप घटाउन र निम्न रक्तचाप बढाउन व्यायामले सहयोग पुर्‍याउँछ भने मधुमेह नियन्त्रणमा पनि व्यायामले अहम् भूमिका खेल्छ ।

३. तनाव नियन्त्रणमा व्यायामको ठुलो हात छ । व्यायाम गरेरै चिन्ता, नैराश्य, भय र उदासीनताजस्ता मानसिक समस्याहरूमाथि लगाम लगाउन सकिन्छ । व्यायाम गरिसकेपछि मुड फ्रेस हुन्छ, आत्मविश्वास र सिर्जनशीलता बढ्छ, स्मृति, लय, ध्यान र एकाग्रताजस्ता मानसिक प्रक्रियाहरू तन्दुरुस्त हुन्छन् । लामो समयसम्म व्यायाम गर्दा मस्तिष्कको संज्ञानात्मक क्षमतामा ह्रास हुन पाउँदैन ।

४. मांसपेशी, अस्थिपञ्जर र स्नायु प्रणालीलाई मजबुत बनाउँदछ । रक्त शुद्धीकरण गराउँदछ । पाचन क्षमता बढाउँछ । अपच, अजीर्ण, अम्लपित्त ग्यास्टि्रक, कब्जियतजस्ता समस्या निराकरण गर्न मदत पुर्‍याउँदछ ।

५. कुलतबाट छुटकारा पाउन पनि व्यायामले मदत पुर्‍याउँदछ ।

६. व्यायाम गर्ने बानीले शारीरिक मानसिक र यौनक्षमता बढाउँदछ ।

७. क्यान्सर प्रतिरोधकता बढाउन पनि व्यायामले सहयोग पुर्‍याउँदछ ।

८. नसर्ने रोगहरूको रोकथाममा ठुलो टेवा पुर्‍याउँछ ।

९. अनिद्राको समस्या भएकाहरूलाई विशेष लाभ पुर्‍याउँछ ।

१०. चाँडै बुढो हुन दिँदैन ।

लेखक योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सा अस्पताल भरतपुर-१, वागीश्वरी, देवघाटधाम, चितवनका मेडिकल डाइरेक्टर हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖