• Wednesday 7th of October 2026

एलन मस्कले टेस्लाका ६ हजार कर्मचारी हटाउने


  • धनकुटा खबर
  • .

काठमाडौं । अर्बपति एलन मस्कको इलेक्ट्रिक कार कम्पनी टेस्लाले आर्थिक वर्ष २०२४-२५ को पहिलो त्रैमासिकको नतिजा सार्वजनिक गरेको छ । नतिजाअनुसार कम्पनीको खुद नाफा जनवरी-मार्च त्रैमासिकमा ५५ प्रतिशतले घटेको छ।

त्रैमासिक नतिजा सार्वजनिक भैरहेका बेला कम्पनीले ठूलो कटौतीको घोषणा गरेको छ । रिपोर्टका अनुसार, लागत कटौती अन्तर्गत टेस्लाले ६ हजार जनालाई हटाउने तयारी गरेको छ।

मार्च ३१, २०२४ मा समाप्त भएको पहिलो त्रैमासिकमा कम्पनीको खुद नाफा १.१३ अर्ब डलर थियो। अघिल्लो वर्षको सोही अवधिमा यो २.५१ अर्ब डलर थियो। अर्थात् कम्पनीको नाफा ५५ प्रतिशतले घटेको छ । घट्दो नाफासँगै टेस्लाको राजस्व पनि २०२० पछि पहिलो पटक घटेको छ ।

पछिल्लो समय टेस्लाको सेयरमा तीव्र गिरावट आएको छ र यसको असर कम्पनीका मालिक एलन मस्कको नेटवर्थमा पनि देखिएको छ । सम्पत्तिमा आएको ह्रासका कारण पहिला उनले विश्वको नम्बर एक धनी व्यक्तिको ताज गुमाए र त्यसपछि मस्क धनीहरुको सूचीमा चौथो स्थानमा झरे ।

ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार उनको कुल सम्पत्ति १६६ बिलियन डलरमा झरेको छ। यो वर्ष २०२४ मा एलन मस्कले ६२ अर्ब डलरभन्दा बढी घाटा बेहोरेका छन् ।

टेस्लाले पहिले नै धेरै रिपोर्टहरूमा त्रैमासिक नाफामा गिरावटको भविष्यवाणी गरिरहेको थियो र यसको घोषणा हुनु अघि, टेस्लामा प्रमुख कटौतीको घोषणा गरिएको थियो। बिजनेश टुडेमा प्रकाशित रिपोर्टका अनुसार एलन मस्कले ६ हजारभन्दा बढी कर्मचारीलाई निकाल्ने घोषणा गरेका छन् ।

कम्पनीले सूची तयार गरेको र यसअन्तर्गत टेस्लाको क्यालिफोर्निया इकाईमा ३ हजार ३ सय ३२ कर्मचारी र टेक्सास इकाईमा २ हजार ६८८ कर्मचारीलाई हटाइने भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖