• Sunday 18th of October 2026

तराईमा अत्यधिक गर्मी, अझै पाँच दिन तातो लहरको सम्भावना


  • धनकुटा खबर
  • .

काठमाडौं । देशको तराई भूभागमा अझै केही दिन अत्यधिक गर्मीको सम्भावना छ । विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम र न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

“लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानहरूमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ,” महाशाखाले शनिबार अपराह्न जारी गरेको विशेष बुलेटिनमा उल्लेख छ ।

तराईका भूभागमा अत्यधिक गर्मीको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले सुझाव दिएको छ । “ती भूभागहरूमा आगामी पाँच दिन (२०८१ वैशाख १६ गतेदेखि २०८१ वैशाख २० गते)सम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको हुनाले सोको असरबाट बच्न आवश्यक सतर्कता अपनाउनहुन अनुरोध छ,” बुलेटिनमा उल्लेख छ ।

पहाडी भूभागका उपत्यका र खोचहरूमा समेत तापक्रम क्रमिक रूपमा बढ्न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले यसअघि तातो हावा तथा तातो लहरसम्बन्धी पाँचदिने नै विशेष बुलेटिन जारी गरेको थियो । त्यसको अवधि सकिएसँगै अर्को विशेष बुलेटिन जारी गरेको हो ।

“तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरहरू जस्तै, थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुन सक्ने देखिएकोले सोबाट बच्न निम्न उपायहरू अपनाउन हुन अनुरोध छ,” बुलेटिनमा भनिएको छ ।

तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरबाट जोगिन विभिन्न उपाय अपनाउन समेत महाशाखाले सुझाव दिएको छ । “तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, घाममा बढी एक्सपोज नहुने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक–पटक) पानी तथा झोलपदार्थ (जुस, सर्बत आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह, सुझाव लिन समेत अनुरोध छ,” बुलेटिनमा उल्लेख छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖