• Sunday 18th of October 2026

मोटरसाइकलको चक्कामा सल बेरिँदा २२ वर्षीया युवतीको मृत्यु, आमाको अवस्था गम्भीर


  • धनकुटा खबर
  • .

महोत्तरीको बर्दिवास जंगलमा मोटरसाइकल दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ। दुर्घटनामा उनकी आमा गम्भीर घाइते भएकी छन्।

शनिबार बिहान करिब नौ बजे पूर्वपश्चिम राजमार्गमा पर्ने बर्दिबास नगरपालिका-५ टुटेश्वर जंगलमा सर्लाहीबाट महोत्तरीको बर्दिबास तर्फ जाँदै गरको प्रदेश २-०३-००७ प ३३६९ नम्बरको मोटरसाइकल दुर्घटनामा परको हो।

दुर्घटनामा सर्लाहीको बागमती नगरपालिका- ४ कर्मैया निवासी २२ वर्षीया स्मृति कार्की रानाभाटाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी रेवतीरमण पोखरेलले जानकारी दिए।

दुर्घटनामा उनकी आमा ५० वर्षीया उषा कार्की गम्भीर घाइते भएकी छन्। उनलाई बर्दिबासमा रहेको शुभस्वस्तिक अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको लागि काठमाडौँ लगिएको डीएसपी पोखरेलले बताए।

‘मोटरसाइकल छोरीले चलाएकी रहिछन्,’ डीएसपी पोखरेलले नेपालखबरसँग भने, ‘पछाडि बसेकी आमाको सल मोटरसाइकलको पछाडीपट्टीको चक्कामा बेरिँदा घटना भएको देखिन्छ।’

सल मोटरसाइकलको पछाडिपट्टीको चक्कामा बेरिएर मोटरसाइकल अनियन्त्रित भई सडकमा ढलेपछि आमा-छोरी गम्भीर घाइते भएका थिए।

दुर्घटनामा गम्भीर घाइते भएका आमा-छोरीलाई प्रहरीले तत्कालै उपचारका लागि शुभ स्वस्तिक अस्पताल बर्दिवास पुर्याएको थियो।

‘त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि जनकपुरतर्फ लैजाँदै गर्दा उषाको मृत्यु भएको हो,’ डीएसपी पोखरेलले भने, ‘जनकपुरस्थित काब्या अस्पताल पुर्याउँदा उनलाई चिकित्सकले मृत घोषणा गरेका हुन्।’

मृतक कार्कीको माइत सर्लाहीकै लालबन्दी नगरपालिका- ४ हरिभवन हो। १ वर्षअघि मात्रै उनको विवाह भएको थियो।

मृतक युवतीको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको पोखरेलले बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖