• Wednesday 7th of October 2026

टिकटक स्टारको आफ्नै घरमा गोली हानी हत्या


  • धनकुटा खबर
  • .

एजेन्सी । इराकको बग्दाद स्थित आफ्नै घर नजिकै ओम फहाद नामबाट आफ्ना फलोअरमाझ परिचित एक इराकी टिकटक स्टारको गोली हानी हत्या भएको छ । स्थानीय प्रहरी अधिकारीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरे अनुसार मोटरसाइकलमा सवार एक जना आक्रमणकारीले शुक्रबार राति कालो एसयूभीमा बसेकी फहाद नजिक आए, ती टिकटक स्टारको कानूनी नाम गुफ्रन सावदी भएको बताइएको छ ।

इराकी टिभीले प्रसारण गरेको सीसीटिभी क्यामेरा फुटेजमा आक्रमणकारीले भाग्नु अघि कारभित्र गोली प्रहार गरेको देख्न सकिन्छ । इराकको गृह मन्त्रालयले उक्त हत्या प्रकरणमा अनुसन्धानका लागि एक टिम तयार पारिएको बताएको छ । अहिलेसम्म उक्त घटनामा संलग्न रहेका सन्दिग्ध कसैलाई पनि पक्राउ गरिएको छैन ।

इराकी म्युजिकमा आफूले नृत्य गरेका र आफ्नो दैनिक जीवन देखाइएका भिडिओ राख्ने फहाद टिकटकमा लोकप्रिय थिइन् । उनको टिकटक अकाउन्टमा ५० लाख फलोअर छन् ।

गत वर्ष इराकी सरकारले नैतिकता र परम्परा उलङ्घन गर्ने सामग्रीलाई लक्षित गर्दै सामाजिक सञ्जाल सफाइ गर्ने भन्दै एउटा अभियान सुरु गरेको थियो । सामाजिक सञ्जालमा आफूलाई आपत्तिजनक लाग्ने क्लिपहरू स्क्यान गर्न एउटा कमिटी गठन गरियो । त्यस्तै सरकारले बाल्घ नामक एउटा अनलाइन प्लेटफर्म तयार पार्‍यो, जसमा प्रयोगकर्ताले हटाउनु पर्ने कन्टेन्टहरूको बारेमा रिपोर्ट गर्न सक्छन् ।

नैतिकता र सार्वजनिक शिष्टतामा आघात पुर्‍याएको भन्दै गत वर्ष छ महिनादेखि दुई वर्षसम्मको जेल सजाय प्राप्त गर्ने छ जना इराकी कन्टेन्ट क्रियटरमध्येकी फहाद एक थिइन् । त्यहाँको प्रशासनले अन्य आठ जना क्रियटरमाथि समेत अनुसन्धान थाल्यो । केहीलाई माफी माग्न बाध्य पारियो र उनीहरूका कन्टेन्ट हटाइयो ।

जेनेभा स्थित गैरनाफामूलक संस्था युरो-मेड ह्युमन राइट मनिटरको एक रिपोर्टमा ट्रायलमा आरोपहरू अस्पष्ट रहेको र अभियोगमा कुनै आधार नरहेको पाइएको थियो । चर्चित कन्टेन्ट क्रियटरको हत्या भएको यो पहिलो पटक भने होइन । सन् २०१८ मा दुई करोड फलोअर भएकी तारा फरेज नाम गरेकी एक इराकी मोडेल तथा इन्स्टाग्राम क्रियटरको बग्दादमा दिउँसै गोली हानी हत्या गरिएको थियो । उक्त घटनालाई लिएर कसैलाई पनि पक्राउ गरिएन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖