• Wednesday 7th of October 2026

मेटाका कर्मचारीको औसत वार्षिक तलब ५ करोड रुपैयाँ !


  • धनकुटा खबर
  • .

सोसल मिडिया प्लाटफर्म फेसबुक, इन्स्टाग्राम तथा ह्वाट्सएपको मातृ कम्पनी मेटाका कर्मचारीको औसत वार्षिक तलब ३ लाख ७९ हजार डलर अर्थात् करिब ५ करोड रुपैयाँ रहेको खुलासा भएको छ।

मेटा कम्पनीले अमेरिकाको सेक्युरिटिज एण्ड एक्सचेन्ज कमिसन (एसईसी) मा पेस गरेको विवरणमा मेटाका कर्मचारीहरुको गत वर्ष सन् २०२३ को वार्षिक औसत आम्दानी ३ लाख ७९ हजार डलर रहेको छ।

विवरण अनुसार मेटा कम्पनीमा करिब ६७ हजार कर्मचारी कार्यरत छन् । त्यसैले औसत वार्षिक तलबभत्ता लाखौंको अंकमा देखिए पनि हरेक कर्मचारीहरुको तलबमा भने व्यापक अन्तर हुनसक्ने देखिन्छ।

बिजनेस इनसाइडरको एक रिपोर्ट अनुसार मेटा कम्पनीमा उच्च तहका सफ्टवेयर इन्जिनियर तथा अनुसन्धानकर्ताहरुको आधारभूत तलब प्रडक्ट डिजाइनर तथा प्रयोगकर्ताका गुनासोसम्बन्धी विभाग हेर्ने कर्मचारीहरुको भन्दा धेरै छ ।

मेटाले पेस गरेको विवरणमा देखिएको कर्मचारीहरुको औसत तलब कम्पनीमा कार्यरत आम प्राविधिक जनशक्तिको वास्तविक आम्दानीभन्दा उल्लेख्य रुपमा धेरै देखिन्छ ।

मेटामा कार्यरत प्राविधिक जनशक्तिको वार्षिक तलबभत्ता ३५ हजार देखि १ लाख २० हजार डलरसम्म रहेको छ ।तथापि ठूला प्रविधि कम्पनीहरुको दुनियाँमा मेटा कम्पनीका कर्मचारीरुको औसत तलबको अंक आश्चर्यजनक छैन ।गुगल तथा अमेजन जस्ता ठूला कम्पनीहरुमा पनि ३ लाख डलरभन्दा धेरै तलबभत्ता खाने कर्मचारीहरु प्रसस्तै छन् ।

एसइसीमा पेश गरिएको विवरण अनुसार सन् २०२३ मा सीईओ मार्क जुरकबर्गले मेटा कम्पनीबाट तलबभत्ता तथा अन्य सुविधाहरुवापत कुल २ करोड ४४ लाख डलर प्राप्त गरेका छन् ।

जुकरबर्गले मेटाबाट तलबको रुपमा वार्षिक एक डलर मात्रै लिने गरेको भएपनि उनको सुरक्षा तथा बन्दोबस्तीको खर्च लाखौं डलर छ ।मेटा कम्पनीले सन् २०२२ यता करिब २२ प्रतिशत कर्मचारी कटौती गरिसकेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖