• Sunday 18th of October 2026

कतारबाट फर्केका व्यक्ति सिनामंगलमा बन्धक बनाई राख्दा सकुशल उद्धार, २ जना पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौ । काठमाडौँमा प्रहरीले अपहरणमा परेका एक व्यक्तिको सिनामंगलबाट सकुशल उद्धार गर्दै घटनामा संलग्न आरोपमा दुई युवकलाई पक्राउ गरेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार सोमबार साँझ सप्तरीको राजविराज नगरपालिका–१३ घर भएका सितेन्द्र यादवलाई आज बिहान सिनामंगलबाट सकुशल उद्धार गरिएको हो।

साथै उनको अपहरणमा संलग्न आरोपमा प्रहरीले सर्लाहीको मलंगवा नगरपालिका–३ घर भई सिनामंगल बस्ने २५ वर्षीय अजिम अली र मलंगवा नै नगरपालिका वडा नम्बर ७ घर भई हाल सिनामंगल बस्ने २५ वर्षीय एम. डी. सनी अलाहीलाई पक्राउ गरेको हो।

प्रहरी उपरीक्षक रेग्मीका अनुसार यादवले सोमबार साँझ आफ्नी पत्नीलाई फोन गरी आफू अपहरणमा परेको र मुक्त हुन ४ लाख ८० हजार रुपैयाँ दिनुपर्ने भनी फोन गरेका थिए।

उक्त सूचना पाएलगत्तै उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष टोलीले उनको उद्धार गर्दै घटनामा संलग्न २ जनालाई नियन्त्रणमा लिएको उनले बताए। प्रहरीका अनुसार पीडित यादव यही वैशाख १७ गते मात्र कतारबाट स्वदेश फर्किएका थिए।

पीडित यादव कतारबाट फर्किंदा मनसुर अली नाम बताउने व्यक्तिले २५ ग्राम सुन दिई आफ्नो भतिज अजिम अलिलाई दिनु भनी यादवको मोबाइल नम्बर दिएका थिए।

पीडित काठमाडौँ ओर्लिएपछि अजिम अलीलाई फोन गरी सामान (सुन) लिन बोलाएकोमा अर्कै मान्छे आएर सुन लगेका थिए। त्यसपछि अजिमले सुन आफूले नपाएको भनी पीडितलाई आफू बस्ने डेरा सिनामंगलमा जबर्जस्ती लगी कुटपिट गर्दै उनकी श्रीमतीलाई ४ लाख ८० हजार दिए मात्र छाड्ने धम्की दिएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

साथै अजिम अलीले पीडितको साथबाट पासपोर्ट र १७ हजार ७४० रुपैयाँ पनि लुटेको पाइएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖