• Monday 5th of October 2026

यी हुन मंगल ग्रहमा पानी पत्ता लगाउने नेपाली वैज्ञानिक


  • धनकुटा खबर
  • .

काठमाडौं ।अमेरिकाको नेसनल एरोनोटिक्स एन्ड स्पेस एडिमनिस्ट्रेसन (नासा) ले मंगल ग्रहको सतहमा पानी रहेको पुष्टि गरेको छ। नेपाली युवा वैज्ञानिक लुजेन्द्र ओझाको नेतृत्वमा रहेको टोलीले यो रहस्य पत्ता लगाएको हो।

पृथ्वीको जुम्ल्याहा ग्रह भनिने मंगल ग्रहमा पछिल्लो ग्रिष्म ऋतुमा पानीको बहाब देखिएको तथ्य सोमबार सार्वजनिक गरिएको हो। त्यो पानीको पानीको स्रोत के हो र त्यसमा के कस्ता रसायन छन् भन्ने खुल्न सकेको छैन ।

ओझाको यस सम्बन्धी अनुसन्धान लेख ‘नेचुरल जोओसाइन्स’ जर्नलमा प्रकाशित भएको छ। यसलाई अन्तरिक्ष विज्ञान क्षेत्रको ठूलो खोज मानिएको छ जसले मंगल ग्रहमा जीवनको सम्भावना औंल्याएको छ। भूउपग्रहबाट प्राप्त मंगल ग्रहको सतहको तस्बिर अध्ययन गर्दा ओझाको टोलीले चार वर्षअघि नै पानी रहेको सम्भावना प्रस्तुत गरेको थियो । त्यसयता नासाले पनि ओझाको खोजलाई पुष्टि गर्ने प्रमाण सार्वजनिक गर्दै आएको छ।

ओझाले मौसममा आउने परिवर्तनअनुसार मंगल ग्रहको सतहका तस्बिरहरुमा देखिने नाटकीय परिवर्तनलाई आधार बनाएर अध्ययन गरेका थिए । ओझाले भिरालो सतहमा देखिने खोच कुनै मौसममा देखिनु र कुनै मौसममा हराउनुमा त्यहाँ रहेको नुनिलो पानीको बहाब कारण हुन सक्ने बताएका छन्।

२१ वर्ष उमेरमै ओझाले सबैभन्दा पहिले पानीको सम्भावना रहेको गतिलो प्रमाण प्रस्तुत गरेका थिए। मंगल ग्रहको सतहको तापक्रम माइनस २३ डिग्री सेल्सियस हुँदा त्यो पानीमा बहाब देखिने र त्योभन्दा चिसो हुँदा हराउने गरेको उनको तर्क थियो।

ओझाको खोज अन्तर्राष्ट्रिय सञ्चार माध्यमले महत्वसाथ प्रकाशित गरेका थिए । पानी भएकाले रातो ग्रहमा जीवनको सम्भावना देखिएको वैज्ञानिकहरुले बताएका छन्। डोटी पुख्र्यौली घर भएका ओझा काठमाडौं, म्हैपीमा जन्मेका हुन् । उनका पिता डा. टंकप्रसाद ओझा अमेरिकाको एरिजोनामै अनुसन्धानरत छन्।

नौ कक्षासम्म राजधानीको ग्यालेक्सी स्कुल अध्ययन गरेका ओझाले बाँकी अध्ययन भने अमेरिकामा गरेका थिए । एरिजोना विश्वविद्यालयमा स्नातक अध्ययन क्रममै उनले यो विषय पत्ता लगाएका थिए । ओझा अहिले जर्जिया इन्स्टिच्युट अफ टेक्नोलोजीबाट विद्यावारिधि गर्दैछन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖