• Wednesday 7th of October 2026

सर्पले टोकेमा के गर्ने, के हो एन्टिभेनम ?


  • धनकुटा खबर
  • .

डा. कमल देवकोटा, सर्पदंश विशेषज्ञ

सर्प दुई प्रकारका हुन्छन्, विषालु र विषरहित । विषरहित सर्पले टोकेमा शरीरमा कुनै किसिमको हानि हुँदैन । विषालुले टोकेमा ज्यान समेत जान सक्छ । नेपालमा गोमन, करेत र भाइपर प्रजातिका सर्पले धेरैलाई टोक्ने गरेको पाइन्छ ।

गोमन र करेत सर्पले टोक्दा न्युरो टक्सिभेनममा असर गर्ने भएकाले मस्तिष्क र स्नायुमा प्रभाव पार्छ । जसकारण मानिसको मृत्यु हुने जोखिम धेरै हुन्छ । सर्पले टोकेपछि आँखा खोल्न गाह्रो हुने, आँखा लट्टिने, खाना खान वा थुक निल्न गाह्रो हुन्छ ।

भाइपर सर्पमा हेमोटक्सिन हुन्छ, जसले शरीरमा रगतलाई खराब गर्छ । टोकेको ठाउँ सुन्निने, समयमा उपचार भएन भने घाउ बढ्दै बढ्दै जाने हुन्छ र समयमा उपचार गरिएन भने हातखुट्टा काट्नुपर्ने वा अंगभंग हुने जोखिम बढी हुन्छ । नेपालमा सर्पदंशबाट हुने मृत्युमध्ये ९० प्रतिशत भन्दा धेरै मृत्यु करेत र गोमन सर्पको टोकाइबाट हुने गरेको पाइन्छ ।

कुन सर्पले टोकेको कसरी थाहा हुन्छ ?

सामान्यतया सर्पले टोक्नासाथ थाहा पाउने तरिका सर्पले टोकेको ठाउँमा सर्पको दुईवटा दाँतको डाम देखिन्छ । टोकेको व्यक्तिले नजिकै सर्प देखेको हुन्छ । आफूलाई सियोले घोचेजस्तै अनुभव हुन्छ ।

गोमन (कोब्रा) : यसले दिनमै टोक्छ । बिहान उज्यालो हुने बेला, दिउँसो १२ बजेको आसपास र साँझ सूर्य अस्ताउने बेला टोक्ने जोखिम धेरै हुन्छ । यो सर्प चिन्न सजिलो छ । यसले टाउको उठाउँछ । फँणा फुलाउँछ । फ्वाँ फ्वाँ गर्छ । धेरै विषालु हुन्छ ।

करेत : यो सर्पले राति सुतिरहेको बेला टोक्छ । टोकेको पनि थाहा हुँदैन । बिहान उठ्दासम्म विष फैलिसकेको हुन्छ । सर्पको टोकेको ठाउँमा दुईवटा दाँतको डाम देखिन्छ ।

भाइपर : भाइपर सर्पको दाँत सानो हुने भएकाले त्यसले टोकेको ठाउँमा दुईवटा दाँतको डाम नदेखिन पनि सक्छ । टोकेको ठाउँमा निलो डाम वा रगत देखिन्छ । विष लागे पनि यो सर्पले टोकेर मृत्यु हुने जोखिम भने निकै कम हुन्छ ।

विषालु सर्पले टोक्दैमा सबैमा विष छोड्ने सम्भावना हुँदैन । करिब ८० प्रतिशतमा विष छोडेको हुन्छ भने बाँकी २० प्रतिशतमा टोके पनि विष छोडेको हुँदैन । विषालु सर्पले टोकेर पनि विष नछाडेका कारण शरीरमा विष नफैलिएका केसलाई ‘ड्राइ बाइट’ भनिन्छ ।

त्यस्तो टोकाइमा परेका बिरामीहरूको स्वास्थ्यमा खासै समस्या हुँदैन । विष छाडेका केसमा भने बिरामी सिकिस्त हुन्छन्, समयमै उपचार पाएन भने मृत्यु पनि हुन्छ । यसको एउटै मात्र उपचार हो एन्टिभेनस । यो बाहेक अरु कुनै उपचार छैन ।

के हो एन्टिभेनम ?

सर्पले टोक्दा वा टोकेमा बिरामीको उपचारको लागि दिइने औषधिलाई एन्टिभेनम भनिन्छ । एन्टिभेनम दुई प्रकारका हुन्छन्, पोलोभ्यालेन्ट र मोनोभ्यालेन्ट एन्टिभेनम ।

पोलोभ्यालेन्ट एन्टिभेनम

एउटा भन्दा बढी सर्पको विषको मिश्रण गरेर तयार पारेको छ भने त्यसलाई पोलोभ्यालेन्ट एन्टिभेनम भनिन्छ । यसमा गोमन, करेट, भाइपर इत्यादिका प्रजातिको आवश्यकता अनुसार एउटा भन्दा बढी सर्पको विष मिसाइन्छ ।

नेपालमा पनि यही पोलोभ्यालेन्ट एन्टिभेनमको प्रयोग गर्दै आइरहेको छ । यो भारतमा आयात गरिन्छ । नेपालमा पाइने एन्टिभेनममा कमन कोब्रो, कमन करेत, रसेल्स भाइपर र सस्केल भाइपर (जुन नेपालमा पाइँदैन) यी चारवटा सर्पको विष मिसाएर पोलोभ्यालेन्ट पाइन्छ । यी चारवटामध्ये सस्केल भाइपर नेपालमा पाइदैन तर भारतमा पाइने भएको यसमा पनि समावेश गरिएको हो । नेपालमा जुनसुकै सर्पले टोक्दा पनि यही पोलोभ्यालेन्ट एन्टिभेनम दिइन्छ ।

मोनोभ्यालेन्ट एन्टिभेनम

यसमा कुनै एउटा निश्चित एक सर्पको विष मिलाएर बनाइन्छ । यसमा ठ्याक्कै जुन सर्पले टोकेको त्यही सर्पकै मोनो एन्टिभेनम दिइन्छ । जस्तै गोमन सर्पले टोकेको छ भने गोमन सर्पकै मोनोभ्यालेन्ट एन्टिभेनम दिइन्छ । जुन नेपालमा प्रयोगमा छैन । नेपालमा एन्टिभेनम औषधिको उत्पादन छैन ।

सर्पले टोकेको कति समयमा दिइन्छ एन्टिभेनम ?

सर्पले टोक्ने बित्तिकै एन्टिभेनम औषधि लगाइहाल्नुपर्दैन । सर्पले टोकेपछि लक्षण देखापरेमा मात्र पोलोभ्यालेन्ट एन्टिभेनम लगाइन्छ । किनभने सर्पअनुसार लक्षण ढिलो चाँडो देखिन्छ । जस्तै गोमनले टोकेमा चाँडै लक्षण देखिन्छ भने करेत सर्पले टोक्दा ढिलो लक्षण देखापर्छ ।

कति भाइल दिनुपर्छ ?

बिरामीको स्वास्थ्य अवस्थाअनुसार पालोभ्यालेन्ट एन्टिभेनलको भाइल फरक-फरक हुन्छ । चिकित्सकको जाँच गरिसकेपछि बिरामीको आवश्यकता अनुरुप कसैलाई दुईवटा भाइल दिंदा नै निको हुन्छ भने औसतमा कसैलाई ३० भाइलसम्म पनि दिनुपर्ने हुन्छ ।

मूल्य कति ?

नेपाल सरकारले तोकिएका केही अस्पतालमा पोलोभ्यालेन्ट एन्टिभेनम निःशुल्क पाइन्छ । तर अन्य स्वस्थ उपचार जस्तै बेडको चार्ज, बिरामीलाई अक्सिजन वा भेन्टिलेटरमा राख्नुपरेमा त्यसको छुट्टै शुल्क लाग्छ ।

सर्पले टोकेमा उपचार गर्न कता जाने ?

नेपालका सबै अस्पताल र स्वास्थ्य केन्द्रमा सर्पदंशको उपचार हुँदैन । मुख्यतया जिल्ला अस्पताल, सरकारी अस्पताल तथा केही निजी अस्पतालमा यसको उपचार हुन्छ भने सेनाले पनि ठाउँ-ठाउँमा आफ्नो ब्यारेकमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा ल्याएको छ । त्यस्तै आर्मीले सञ्चालन गरिरहेको अस्पतालमा पनि उपचार हुन्छ । एन्टिभेनम औषधि जुनसुकै फार्मेसी पसलमा सहजै किन्न पाइँदैन ।

कसरी लगाइन्छ ?

पोलोभ्यालेन्ट एन्टिभेनम अन्य परिवारको नियोजनको सुई जस्तै सिधै छालामा दिइँदैन । यस औषधिलाई सलाइन पानीमा मिसाएर सर्पको टोकेको व्यक्तिलाई चढाइन्छ । यसले शरीरभित्र प्रवेश गरेको विषलाई निष्क्रिय बनाउने काम गर्छ । त्यसैले शरीरभित्र कति विष फैलिएको छ, त्यो अनुसार भाइल चढाउनुपर्छ ।

सर्पले टोक्नासाथ के गर्ने ?

गाउँघरमा अहिले पनि सर्पले टोकेमा घरेलु उपचार नै गर्ने चलन देखिन्छ । सर्पले टोक्ने बित्तिकै टोकेको ठाउँभन्दा अलि माथि कपडाले वा अरु कुनै वस्तुले कसिलो गरी बाँध्ने, सर्पले टोकेको ठाउँमा मुखले चुसेर विष निकाल्ने, धारिलो चीजले काटेर विष मिसिएको रगत फाल्नेजस्ता घरेलु उपचार गरिन्छ, जुन एकदमै गलत हो । यसले फाइदाभन्दा पनि हानि पुर्‍याउँछ ।

सर्पले टोकेमा यसको खास प्राथमिक उपचार नै छैन । टोकेको ठाउँमा लगाउने पीआईबी (प्रेसर इमुलाइजेसन व्यान्डेजिङ) नामको ब्यान्डेज पाइन्छ, जसले घाउलाई छोप्न र नहल्लाउन सहयोग गर्छ । त्यसपछि तुरुन्तै नजिकैको अस्पताल वा स्वास्थ्यचौकीमा पुर्‍याइदिनुपर्छ । तर त्यो समयभित्र सर्पले टोकेको व्यक्तिलाई अस्पताल पुर्‍याउन नसकेमा भने बचाउन मुस्किल पनि पर्न सक्छ । सर्पले टोकेपछि स्वास्थ्य संस्थामा त पुर्‍याइयो तर त्यहाँ यसको उपचार हुन्छ कि हुँदैन भन्ने कुरा सर्वसाधारणलाई थाहा नहुन सक्छ । यस्तो अवस्थामा बिरामीको अवस्था झन् गम्भीर हुनसक्छ ।

सर्पले कुन भागमा बढी टोक्छ ?

सर्पले प्रायः शरीरको तल्लो भागमा टोकेको देखिन्छ । हात, खुट्टा, कम्मर, ढाड, छाती, घाँटी, टाउको जुनसुकै ठाउँमा सर्पले टोक्न सक्छ । टाउको र घाँटीमा टोकेमा विषले चाँडै असर गर्छ, जसकारण मृत्यु हुने जोखिम पनि धेरै हुन्छ ।

(सर्पदंशविज्ञ देवकोटा नेपाल विष विज्ञान संघ (एनटीए)का कार्यकारी निर्देशक हुन् ।)

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖