• Monday 5th of October 2026

यसरी बनाउनुहोस् एउटै फेसबुक अकाउन्टबाट चार ओटासम्म प्रोफाइल


  • धनकुटा खबर
  • .

काठमाडौं । मेटाले गत वर्ष एउटै फेसबुक अकाउन्टबाट चार ओटासम्म प्रोफाइल बनाउन सकिने फिचर ल्याएको थियो । फरक-फरक नाम राखेर बनाउन सकिने ती प्रोफाइलमा छुट्टै पासवर्ड भने हुँदैन । विभिन्न प्रयोजनका लागि छुट्टाछुट्टै अकाउन्ट बनाउन नपरोस् भनेर मेटाले यस्तो सुविधा ल्याएको हाे ।

किन बनाउने एउटै प्रोफाइल ?

मान्छेका चाहना र रुचिका क्षेत्र फरक-फरक हुन सक्छ । उदाहरणका लागि कुनै एउटै व्यक्तिलाई पत्रकारिता, प्रविधि, साहित्य र वन्यजन्तु संरक्षणमा रुचि हुन सक्छ । अब एउटै प्रोफाइलबाट सबै क्षेत्रका अकाउन्ट, पेज वा ग्रुपमा जोडिंदा उसले चाहेको समय उसले खोजेका क्षेत्रका पोस्ट नआउन सक्छन् । त्यसैले आफूले चाहेको क्षेत्रका व्यक्तिलाई एड गर्न, ग्रुपमा जोडिन छुट्टाछुट्टै अकाउन्ट बनाउन सकिन्छ ।

त्यस्तै कतिपयले व्यावसायिक जीवनका लागि छुट्टै अकाउन्ट बनाएका हुन्छन् भने व्यक्तिगत जीवनका लागि छुट्टै अकाउन्ट बनाएका हुन्छन् । त्यसरी छुट्टै अकाउन्ट बनाउँदा छुट्टै पासवर्ड सम्झिनु पर्ने झन्झट हुन्छ । त्यसलाई सजिलो बनाउन फेसबुकमा उक्त फिचर आएको हाे ।

यस्तोमा तपाईंले आफ्नो एउटा प्रोफाइलबाट कुनै पोस्टमा कमेन्ट वा रियाक्ट गर्नु भएको छ भने त्यही अकाउन्टबाट खोलिएको अर्को पोफाइलबाट इन्टर्याक्ट गर्न पाउनुहुन्न । त्यस्तै तपाईंले कुनै प्रोफाइलबाट नोटिफिकेसन आओस् भन्ने चाहनु भएको हुन्छ भने कतिपयमा नआए पनि हुन्थ्यो भन्ने भएको हुन्छ । त्यसका लागि पनि तपाईंले फरक-फरक प्रोफाइल बनाउन सक्नुहुन्छ ।

तपाईंले मुख्य फेसबुक अकाउन्ट डिलिट गरेपछि अन्य अकाउन्टहरू पनि स्वतः डिलिट हुनेछन् । तर, मुख्य अकाउन्ट डिलिट नगरेर अन्य अकाउन्ट डिलिट गर्छु भन्नु भयो भने त्यसको विकल्प पनि रहेको छ ।

कसरी बनाउने एउटै अकाउन्टबाट अरू प्रोफाइल ?

– सबैभन्दा पहिले फेसबुक एप खोल्नुहोस् ।

– अनि, माथि दायाँपट्टि रहेको प्रोफाइल आइकनसँगै भएको तीन ओटा बारमा ट्याप गर्नुहोस् ।

– अनि आफ्नो नाममा ट्याप गर्नुहोस् ।

-त्यसपछि प्रोफाइल पिक्चरको तलपट्टि ‘एडिट प्रोफाइल’ को छेउमा भएको तीन ओटा डटमा ट्याप गर्नुहोस् ।

– यति भएपछि ‘क्रियट एनोदर प्रोफाइल’ (Create another profile) मा ट्याप गर्नुहोस् ।

– अनि गेट स्टार्टेडको बटनमा ट्याप गर्नुहोस् । र, प्रोफाइलको नाम राख्नुहोस् । प्रोफाइल नाम राखिसकेपछि तलपट्टि देखिएको ‘कन्टिन्यु’ को बटनमा ट्याप गर्नुहोस् ।

– यति भएपछि आफ्नो युजरनेम राख्नुहोस् र पुनः कन्टिन्युको अप्सनमा ट्याप गर्नुहोस् । र, अन्तिममा ‘क्रियट प्रोफाइल’ (Create Profile) को अप्सनमा ट्याप गर्नुहोस् ।

– यसरी तपाईंको प्रोफाइल तयार हुन्छ । उक्त प्रोफाइलमा जानका लागि पुनः फेसबुक एप खोलेर होमपेजमा जानुहोस् । -टेकपानाबाट

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖