• Monday 5th of October 2026

१२ सेकेन्डमै ३ अर्ब ३३ करोड रुपैयाँ बराबरको क्रिप्टोकरेन्सी चोरी, दुई दाजुभाइ पक्राउ


  • धनकुटा खबर
  • .

एजेन्सी । १२ सेकेन्डमै दुई करोड ५० लाख डलर (करिब तीन अर्ब ३३ करोड रुपैयाँ) बराबरको क्रिप्टोकरेन्सी चोरेको आरोपमा दुई दाजुभाइ पक्राउ परेका छन् । पक्राउ पर्नेमा अमेरिकाका २४ वर्षीय एन्टोन पेरेयर बोएनो र २८ वर्षीय जेम्स पेरेयर बोएनो रहेका छन् ।

बीबीसीका अनुसार ती दुई भाईले म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) मा अध्ययन गरेका थिए । अमेरिकाको न्याय विभाग ‘यूएस डिपार्टमेन्ट अफ जस्टिस’का अनुसार छोटो समयमा यतिका रकम चोरी गरेको यो नै पहिलो रेकर्ड हो ।

“पेरेयर बोएनो दाजुभाइले प्राविधिक रूपमा परिष्कृत, अत्याधुनिक योजना मार्फत २५ मिलियन डलर बराबरको इथेरियम क्रिप्टोकरेन्सी चोरे,” उप महान्यायाधिवक्ता लिजा मोनाकोले भनिन्, “यसका लागि उनीहरूले महिनौंसम्म योजना बनाए र केही सेकेन्डमै कार्यान्वयन गरेर लाखौं डलर चोरी गरे ।”

यस्तो किसिमको ठगी सतहमा ल्याउनका लागि आन्तरिक राजश्व सेवा (आईआरएस)का एजेन्टले महत्त्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ । आरोपित दुई भाइले अति नै विशेषज्ञ सीप विश्वकै सबैभन्दा चर्चित विश्वविद्यालयमा अध्ययनका क्रममा सिकेका थिए । विभिन्न सञ्चार माध्यमका अनुसार ती दाजुभाइले एमआईटीमा गणित र कम्प्युटर विज्ञान अध्ययन गरेका थिए ।

ती दुई दाजुभाइले इथेरियम ट्रेडर्सबाट ठूलो सङ्ख्यामा क्रिप्टोकरेन्सी चोरी गरेको आरोप छ । यसका लागि ती दाजुभाइले ट्रेडरको सम्पन्न हुन बाँकी रहेका निजी कारोबारमा पहुँच पाएका थिए । त्यसपछि कारोबार सम्पन्न हुनुअघि त्यहाँको विवरण नै परिवर्तन गरेर त्यसमा आफ्नो विवरण राखेर क्रिप्टोकरेन्सी हात पारेको बताइएको आरोप लगाइएको छ ।

यसरी क्रिप्टोकरेन्सी चोरेको आरोप लागेका दाजुभाइले फिर्ता दिन नमानेको र उक्त रकम लुकाउन खोजेको समेत बताइएको छ । यदि यो घटनामा उनीहरू दोषी ठहरिए २० वर्षसम्मको जेल सजाय हुनेछ । -टेकपाना

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖