• Tuesday 20th of October 2026

थलीमा मृत भेटिएका कृष्णका छोराको बयानः कोठा भाडा तिर्न नसकेर ट्याक्सीमै सुत्थ्यौं


  • धनकुटा खबर
  • .

काठमाडौंको थलीमा मृत भेटिएका भक्तपुर, छालिङका कृष्ण नगरकोटी चरम गरिबीका कारण विक्षिप्त अवस्थामा पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

कृष्णको शव कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ५ मुलपानी–साँखु सडक खण्डअन्तर्गत थलीको उकालामा मंगलबार बिहान फेला परेको थियो। सडकमुनि निर्माणाधीन पर्खालनजिकै धारिलो हतियारले घाँटी काटिएको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
प्रहरीले उनले आत्महत्या गरेको आशंका गरेको छ।
मृतकका छोरा रिचेन दक्षिणकाली नगरपालिकको चाल्नाखेलमा घाइते अवस्थामा फेला परेका थिए।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मृतक कृष्ण ट्याक्सी चलाउँदै आएको बयान छोराले दिएका छन्।
स्थायी घर भक्तपुर चाँगुनारायण नगरपालिका वडा नम्बर ५ छालिङ भए पनि उनीहरू काठमाडौंको रवी भवनस्थित गणेशस्थानमा बस्दै आएका थिए।

पछिल्लो तीन महिनादेखि उनीहरूले घर भाडा भुक्तान गर्न नसकेको रिचेनको भनाइ छ। मृतक कृष्णको साथमा छोरा रिचेन र छोरी रश्मी पनि बस्दै आएको खुलेको छ।

कोठा भाडा बुझाउने पैसा नभएपछि बाबु, छोरा र छोरी तीनै जना ट्याक्सीमै बस्ने गरेको बयान रिचेनले दिएका छन्। छोरा र छोरीको मानसिक अवस्था साधारण नदेखिएको प्रहरीले बताएको छ।

मृतक कृष्ण र छोराछोरी सोमबार दिउँसो १० बजेसम्म सँगै रहेको पनि अनुसन्धानबाट खुलेको छ।

सोमबार दिउँसो १० बजेको समयका सेतोपुल नजिकै ट्याक्सी बिग्रिएको र बाबुछोरा मिस्त्री खोज्न गएको बयान छोरी रश्मीले दिएकी छन्। उनी भने सेतोपुल सडकखण्ड नजिकै ट्याक्सीमै फेला परेकी थिइन्।
मिस्त्री खोज्न हिँडेका बाबु मंगलबार बिहान झन्डै ५ किलोमिटर पर थलीको उकालोमा मृत फेला परेका थिए। रुमालले मुख ढाकेको अवस्थामा उनको शव फेला परेको थियो। शव नजिकै दुइटा ब्लेड फेला परेको प्रहरीले बताएको छ।

घाँटी काटिएको अवस्थामा कृष्णको शव फेला परेको थियो।
मृतकका भाइ सहकुलका अनुसार रिचेन चाल्नाखेलमा घाइते अवस्थामा रहेको भनेर सोमबार राति नै प्रहरीले जानकारी गराएको थियो। त्यसपछि आफूहरू राति नै दक्षिणकाली पुगेको सहकुलले बताए।

बिहानपख चाँगुनारायण नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष जयन्द्र खड्काले कृष्ण मृत फेला परेको सुनाएपछि मात्रै घटना थाहा पाएको उनले बताए।

‘उहाँहरू गाउँमा बस्नुहुँदैनथ्यो। बुवाको मृत्यु हुँदा मात्रै दाजु गाउँ आउनुभएको मलाई थाहा छ। भाउजूले पनि छाड्नुभएको रहेछ,’ सहकुलले भने।

छोरा रिचने र छोरी रश्मीलाई प्रहरीले सोधपुज गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी प्रवक्ता नवराज अधिकारीले जानकारी दिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖