काठमाडौँ- चर्चित आरोही निर्मल पुर्जाले पूर्व मिस फिनल्याण्डले लगाएको यौन दुर्व्यवहारको आरोपको खण्डन गरेका छन्।
‘द न्युयोर्क टाइम्स’ले हिमाल आरोहणका क्रममा पुर्जाबाट पूर्व मिस फिनल्याण्ड लोट्टा हिन्टसा र डा. अप्रिल लियोनार्डोले आफूहरूलाई यौन दुर्व्यवहार गरेको भन्दै समाचार प्रकाशित गरेको थियो। त्यसलगत्तै पूर्जाले आरोपको खण्डन गरेका हुन्।
पूर्जाले आफ्नो इस्टाग्राम (निम्सदाइ)मा स्टोरी राख्दै आरोपको खण्डन गरेका हुन्। आफूले कुनै गल्ती नगरेको उनको भनाइ छ। आरोप सबै झुटो भएको दाबीसमेत उनले आफ्नो पोस्टमा गरेका छन्। समाचारमा गल्ती भएको भन्दै त्यसको कानुनी उपचार खोज्ने पूर्जाले बताएका छन्।
सन् २००८ मा विश्वका आठ हजार मिटर माथिका १४ वटा हिमाल आरोहण गरेपछि पुर्जा चर्चामा थिए। उनी पछिल्लो समय हिमाल आरोहणसम्बन्धी कम्पनी सञ्चालन गर्दै आएका छन्।
हिन्टसाले सन् २०१९ मा प्रकाशित उनको संस्मरणमा ‘एक चर्चित आरोही’ बाट दुर्व्यवहारमा परेको उल्लेख गरेकी थिइन्। न्युयोर्क टाइम्ससँगको पछिल्लो कुराकानीमा उनले पुर्जाको नाम उल्लेख गरेकी हुन्। समाचारमा उल्लेख भए अनुसार पुर्जाले उनको कोठामा पुगेर जबरजस्तीको प्रयास गरेका थिए।
समाचारमा उल्लेख भए अनुसार डा. अप्रिल लियोनार्डोलेसमेत पूर्जाले जबरजस्ती गर्न खोजेको बताएकी छन्। पूर्जाले जबरजस्ती चुम्बन लिएको उनको दाबीसहितको समाचार प्रकाशित भएको हो। केटू हिमाल आरोहणमा गाइड रहेका पूर्जाले जबरजस्ती गरेको उनको दाबी छ।
