• Sunday 4th of October 2026

अदालतले दियो आदेश ! अनिल कपुरको आवाज–तस्बिर मनलाग्दी प्रयोग गर्न नपाइने


  • धनकुटा खबर
  • .

बलिउड अभिनेता अनिल कपुरले दिल्ली उच्च अदालतको ढोका ढकढकाएका छन् । उनले अदालतमा याचिका दायर गरेर आफ्नो व्यक्तित्वको अधिकारको सुरक्षा र संरक्षणको माग लगाएका छन् । सोसल मिडिया प्लेटफर्ममा उनको नाम प्रयोग भएकोमा उनले आपत्ति जताएका छन् । यसले आफ्नो छवि खराब पारिरहेको र व्यक्तित्वमा पनि असर पारेको उनले बताएका छन् । उनको यो याचिकामा अदालतले उनको पक्षमा निर्णय सुनाएको छ ।

पर्सनालिटी राइट्सको सुरक्षाका लागि याचिका

अनिल कपुरले दिल्ली उच्च अदालतमा निवेदन दिएर आफ्नो व्यक्तित्वको अधिकारको सुरक्षा र संरक्षणको माग गरेका छन् । अनिलको याचिकामा भनिएको छ – विभिन्न प्लेटफर्ममा मेरो नाम, आवाज र तस्बिरका साथै मेरो व्यक्तिगत चिजको गैर कानुनी रूपमा प्रयोग गरिएको छ । यसले मेरो छविमा गलत असर परिरहेको छ ।

यसमा रोक लगाउनका लागि अनिलले अदालतसमक्ष समुचित आदेश जारी गर्न निवेदन दिएका हुन् ।

नामको गलत प्रयोग

यो निवेदनमा अनिलले थपेका छन्, ‘विभिन्न सोसल मिडियासहित अन्य प्लेटफर्म जस्तै जोन, डजमा मेरो नामको प्रारम्भिक अक्षर एके अथवा मद्वारा अभिनीत चरित्रको नाम लखन, मिस्टर इन्डिया, मजनू भाइ, झक्कास जस्ता शब्दको गलत प्रयोग गरिएको छ । यति मात्रै होइन, मेरो नाम, तस्बिर र अन्य निजी पहिचानलाई अवैध तरिकाले सार्वजनिक र व्यावसायिक प्रयोग गरिएको छ । ती मेरो अनुमति वा जानकारी बिना अन्धाधुन्ध तरिकाले भइरहेको छ । ’

अभिनेताले पाए राहत

यसका लागि अनिल कपुरले दिल्ली उच्च अदालतबाट राहत पाएका छन् । दिल्ली उच्च अदालतले अनिल कपुरको आवाज, नाम, तस्बिरको उनको अनुमति बिना व्यावसायिक उद्देश्यले प्रयोग नगर्न आदेश दिएको छ । अब यो आदेश पछि उनको अनुमति बिना उनको फोटो, आवाज र भिडियोको दुरुपयोग गरे उनीहरुले कानुनी समस्या झेल्नुपर्ने हुनसक्छ ।

यसअघि अमिताभ बच्चनले पनि अदालतमा यस्तै खालको निवेदन दिएर यस्तै खालको राहत पाइसकेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖