युट्युबकी पूर्व प्रमुख कार्यकारी अधिकृत तथा गुगल कम्पनीका सुरुवाती कर्मचारी मध्येकी एक सुसास वज्सिकीको ५६ वर्षको उमेरमा निधन भएको छ ।
गुगलका प्रमुख कार्यकारी अधिकृत सुन्दर पिचाईले २ वर्षदेखि फोक्सोको क्यान्सरबाट पीडित रहेकी सुसानको निधन भएको जानकारी दिएका छन् ।
सोसल मिडिया प्लाटफर्म एक्समा एक पोस्ट गर्दै पिचाइले सुसानको निधनबाट आफू निकै दु:खी भएको भन्दै उनी गुगलको इतिहासको केन्द्र भागमा रहेकी उल्लेख गरेका छन् ।
कुनै बेला कहिल्यै नसुनिएका गुगलका सर्वाधिक महत्वपूर्ण व्यक्तिको रुपमा समेत चर्चा हुने गरेकी सुसान सन् १९९८ मा गुगल कम्पनीको स्थापनाको बेलामै उपस्थित थिइन् । उनले मेन्लो पार्कस्थित आफ्नो ग्यारेज नै सर्च इन्जिन कम्पनी गुगलका संस्थापक सर्गेइ ब्रिन र ल्यारी पेजलाई भाडामा दिएकी थिइन् ।
त्यसबेला चिप मेकर कम्पनी इन्टेलमा कार्यरत सुसानलाई ब्रिन र पेजले गुगलमा आउन मनाएका थिए र उनी गुगलको १६औं कर्मचारीको रुपमा भित्रिएकी थिइन् ।
