• Tuesday 10th of November 2026
  • ट्रेण्डिङ :

एआईबाट आफ्नो फेक भिडिओ बनाउनेलाई कारबाही गर्न सुनिता डंगोलद्वारा साइबर ब्यूरोमा पत्राचार


  • धनकुटा खबर
  • .

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले आफ्नो नाम जोडी खोलिएका अनधिकृत सामाजिक सञ्जाल (फेसबुक पेज) हटाई त्यस्ता प्रयोगकर्तालाई आवश्यक कारबाही गरि सहयोग गर्न साइबर ब्यूरोलाई पुनः आग्रह गरेकी छन् ।

यसअघि पनि त्यस्ता पेजहरु बन्द गर्न आग्रह गरे पनि अहिलेसम्म बन्द नभएको र विभिन्न खाले सामाग्री प्रकाशन भैरहेको भन्दै डंगोलको सचिवालयले पुन ब्यूरोलाई आग्रह गर्दै पत्र लेखेको छ ।

मिति २०८१ जेठ १३ र असार २५ गते केही फेसबुक पेजहरुलाई बन्द गर्न पत्राचार गरेको तर अहिले पनि ती सामाजिक सञ्जाल (फेसबुक पेजहरु) प्रयोगमै रहेको उनको सचिवालयको भनाइ छ । हालैमात्र एक सार्वजनिक कार्यक्रममा मेयर बालेन्द्र शाह र डंगाेलसँगै रहेकाे भिडिओलाई ताेडमाेड गरी अनर्गल तरिकाले सामाजिक सञ्जालमा भाइरल बनाइएपछि साइबर ब्यूराेमा पत्रारचार गरिएकाे हाे ।

‘एआई प्रविधिबाट फोटो तथा भिडियो एनिमेशन गरी सामाजिक सञ्जालहरुमा हाली व्यक्तिको चरित्रहत्या गर्नेसम्मका कार्य भइरहेकाले यथासम्भव चाँडो अनुसन्धान गरी उक्त भिडियो, फोटो तथा समाचारहरु हाटाइदिनुहुन र त्यस्ता गैरकानुनी ढंगबाट समाजमा गलत गतिविधि गर्नेहरुलाई कानूनबमोजिम कारबाही गरी सहयोग गरिदिनुहुन पुनः अनुरोध गर्दछु’, डंगोलका सचिवालय प्रमुख सौरभ गौतमको हस्क्षरसहितको पत्रमा उल्लेख गरिएको छ ।

उपप्रमुख डंगोलले पनि अनधिकृत तरिकाले खोलिएका पेजहरुमार्फत महिला दिदी–बहिनीहरुको चरित्रहत्या गर्ने, समाजमा विद्वेष फैलाउने जस्ता गलत गतिविधि मौलाएको भन्दै त्यस्ता पेजहरुको निगरानी गर्न र बन्द गराउन आग्रह गरेको जानकारी दिइन् ।

‘अनधिकृत तरिकाले खोलिएका पेजहरुमार्फत समाजमा वैरभाव फैलाउने, सामाजिक सद्भाव भड्काउने, महिला दिदी–बहिनीहरुको चरित्रहत्या गर्ने जस्ता कार्यहरु बढ्दै गएका छन्’, उनले भनिन्, ‘मेरै सन्दर्भमा पनि यस्ता खालका पेजहरु प्रविधिको दुष्प्रयोग गरेर चरित्रहत्या गर्ने कार्यहरु भैरहेका छन् । यस्ता कुरालाई नियन्त्रण नगर्ने हो भने आम महिला दिदी–बहिनीहरुले बढ्दो प्रविधिको प्रयोगसँगै असुरक्षित महसुस गर्नुपर्ने हुन्छ । त्यसैले यस्ता गविविधिहरुलाई नियन्त्रण गर्नुपर्छ भनेर मैले सार्वजनिक मञ्चहरुमा पनि भन्दै आएको छु ।’

उनले स्वयं आफू पनि त्यस्ता गतिविधिका कारण पीडित भएको भन्दै ब्यूरोलाई अवाञ्छित गतिविधिहरुलाई निगरानी गर्न, रोक लगाउन र कानूनबमोजिम हदैसम्मको कारबाही गर्न आग्रह गरेको पनि जानकारी दिइन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖