• Tuesday 10th of November 2026
  • ट्रेण्डिङ :

हिमताल फुटेर थामेमा बाढी आएको पुष्टि


  • धनकुटा खबर
  • .

विज्ञहरू सहितको टोलीले भदौ १ मा थामे क्षेत्रको हेलिकोप्टरबाट स्थलगत निरीक्षण गरेको छ। हेलिकोप्टरबाट स्थलगत निरीक्षण गर्दा थामेभन्दा माथि रहेको हिमताल फुटेर बाढी आएको देखिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवि पाण्डे (खत्री)ले बताइन्।

थामेमाथि रहेका पाँच वटा हिमताल। तस्वीर सौजन्य : फुर्वा तेञ्जिङ शेर्पा
थामेमाथि पाँच वटा हिमताल रहेका छन्। यहि वर्ष आरोहणमा जाँदा पाँच वटै हिमतालको अवस्था फरक देखेको आरोही फुर्वा तेञ्जिङ शेर्पाले उल्लेख गरेका छन्।

रक्षामन्त्री मानवीर राई नेतृत्वको सुरक्षा अधिकारीको टोलीले हेलिकोप्टरबाट निरीक्षण गर्दा थामे खोलाको शिरमा रहेका ताल फुटेको देखिएको पाण्डेले जानकारी दिइन्।

फुटेको हिमताल।
हिमताल फुटेपछि तल्लो क्षेत्रमा आउँदै गर्दा भेलबाढीको रुपमा लिएको छ। पानीको वहावसँगै ढुंगामाटो मिसिँदा विनासकारी बनेको देखिन्छ।

थामेसम्म आइपुग्दा खोला वारीपारी ससाना पहिरो पनि मिसिएका छन्। जसले गर्दा थामे गाउँका २० वटा भौतिक संरचना बगेका छन्।

हिमताल फुटेपछि बाढी आएको थामेखोला।
घर र होटल गरि २० वटा संरचना, एक विद्यालय र एक क्लिनिकमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक (डीएसपी) द्वारिकाप्रसाद घिमिरेले बताए। बाढीमा ५५ वर्षीय निमानुरु टुडु शेर्पा हराइरहेका छन्।

बाढीले क्षतिग्रस्त बनेको थामेगाउँ।
थामे खोलामा आएको बाढीबाट थामे गाउँका ९३ जना विस्थापित भएका छन्। विद्यालयको छात्रवासमा बस्ने ३२ विद्यार्थी, आठ शिक्षक र दुई कर्मचारीलाई दुम्जेथामेमा रहेको सामुदायिक भवनमा सारिएको छ। बाढीमा हराएका एक जनाको खोजी जारी रहेको डीएसपी घिमिरेले बताए।

बाढी आउन अघिको थामेगाउँ। तस्वीर सौजन्य : फुर्वा तेञ्जिङ शेर्पा
बाढीले तटीय क्षेत्रमा कटान जारी राखेको छ। माप्यदुधकोसी गाउँपालिका-१ अँधेरीस्थित खुम्बुक्षेत्र जोड्ने दूधकोशी खोलाको पक्की पुलको एकतर्फको भाग भासिएको छ। सोताङ गाउँपालिका-१ दिप्लीघाटको बेलिब्रिजको स्टोर गरेर राखिएको सामान बगाएको छ।

खुम्बु पासाङल्हामु गाउँपालिका-३ जोरसल्लेमा कटानका कारण फाक्दिनदेखि नाम्चे जाने पैदल मार्गको दुई स्थानमा बगाएको डिएसपी घिमिरेले बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖